काठमाडौं, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क र विमस्टेक एक अर्काको पूरक हुने तर विकल्प हुन नसक्ने बताएका छन् ।
चौथो विमस्टेक शिखर सम्मेलनको उद्धघाटनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) लाई विचार, पहिचान र उद्देश्यका रुपमा हेर्न आग्रह गरेका छन्।
बिहीबार अपरान्ह राजधानीको कालिमाटीस्थित सोल्टी होटलमा भएको उदघाटन सत्रलाई सम्बोधन गर्दै ओलीले बिमस्टेकलाई सदस्य राष्ट्रहरुको योगफलका रुपमा मात्र नहेर्न आग्रह गरे।
उनले बस्तुको व्यापार, सेवाका व्यापार, लगानी, भन्सारका विषयमा आपसी सहयोग, विवाद समाधान र व्यापार सहजिकरण विषय जस्तो विषयलाई अघि बढाउन सके बिमस्टेक प्रभावकारी रुपमा अघि बढ्नेपनि बताए।