मुलुकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको छ । डाक्टरहरुले आजै नेपाल मेडिकल काउन्सीलमा लाइसेन्स फिर्ता गर्ने कार्यक्रम पनि राखेका छन् । भदौ एक गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था संशोधनको माग चिकित्सकहरुले राख्दै आएका छन् । चिकित्सकहरुको आन्दोलनको विषयमा ऋषि धमलाले नेपाल चिकित्सक संघका महासचिव डा लोचन कार्कीसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
-लोचन कार्की, महासचिव, नेपाल चिकित्सक संघ
तपाईहरुले स्वास्थ्य सेवा किन बन्द गर्नुभएको ?
पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ल्याइएको मुलुकी अपराध संहितामा डाक्टरको लापरवाहीको कारण बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । यो नियम हामीलाई स्विकार्य छैन । सरकारलाई नियम संशोधन गर्न भनेका थियौँ । तर सरकारले हाम्रो माग वेवास्ता गरेकाले आन्दोलन गर्न बाध्य भएका हौँ ।
आन्दोलनका नाममा विरामीलाई सास्ती दिने काम गर्न मिल्छ ?
सामान्य तरिकाले हेर्दा डाक्टरले विरामीलाई सास्ती दिएको जस्तो देखिन्छ । तर हाम्रो आन्दोलन विरामीकै हितमा हो । अहिलेको नियमअनुसार डाक्टरहरुले विरामीको उपचार गर्दा आफू सुरक्षित हुनुपर्ने अवस्था हुन्छ । यसले विरामीको उपचार प्रभावकारी नहुन सक्छ । त्यसैले ढुक्क भएर विरामीको उपचार गर्न पाउनुपर्छ भनेर हामीले आन्दोलन गरेका हौँ ।
तपाईहरुको आन्दोलन कसरी विरामीको पक्षमा हुन्छ ?
एउटा विरामी टाउको दुखेर डाक्टरकहाँ आयो भने एमआरआई नगरी औषधी दिन सकिदैन । टाउको टयूमर हुन पनि सक्छ, क्यान्सर हुन पनि सक्छ । रगत जमेको पनि हुन्छ सक्छ । त्यसैले राम्रोसँग जाँच गर्नुपर्छ । राम्रोसँग जाँच गर्ने क्रममा जे पनि हुन सक्छ । यस्तो संवेदनशील विषयलाई अहिलेको नियमले सम्बोधन गरेको छैन् ।
तर स्वास्थ्य क्षेत्रमा बन्द हड्ताल गर्नु त राम्रो भएन नि ?
हामीले आकस्मिक सेवा बन्द गरेका छैनौँ । चिकित्सकहरुले मुलुकी ऐनअनुसार काम गर्न नसक्ने अवस्था छ । यो कुरा त सबैले बुझिदिनुपर्यो नि । हामीले रहरले आन्दोलन गरेका त होइनौँ नि । पेशा नै छोड्नुपर्ने अवस्था आएपछि कसरी काम गर्न सकिन्छ ? घाँटीमा तरबार तेस्र्याउने अनि कम गर भन्न त मिलेन नि ।
तर नेपालमा डाक्टरको लापरबाहीले धेरै विरामीको ज्यान गएको छ । उल्टो उपचार भएको छ । यस्तो प्रवृत्ति रोक्न ल्याइएको नियमको किन विरोध गर्ने ?
डाक्टरले गलत उपचार गरेको वा नगरेको भन्ने विषयमा त अनुसन्धानबाट थाहा हुने कुरा हो नि । विशेषज्ञ टोलीले छानबिन गरेर दोषी डाक्टरलाई कारबाही गर्ने कुराको त हामीले विरोध गरेकै होइन नि । तर उपचारको क्रममा तलमाथि हुनेवित्तिकै छानविन नै नगरी डाक्टरलाई कारबाही गर्ने नियम बनाइएको छ ।
आज तपाईहरुले डाक्टरको लाइसेन्स फिर्ता गर्ने हो ?
हो ।
हतार भएन ?
ऐन संशोधनका लागि दर्ता मात्रै गरिदिएको भए पनि हामी आन्दोलनमा जाने थिएनौँ । सरकारले संशोधनको आश्वासन दियो तर संशोधन दर्तासमेत गरेन । त्यसैले आन्दोलनमा गएका हौँ । हतार गरेका छैनौँ । भदौ १५ गतेसम्म समय दिएका थियौँ । तर सरकारले संशोधन दर्ता गरेन ।