Logo

बालबाल जोगियो सुगतरत्नको जागिर : सचिवको ‘आईडिया’, मन्त्रीको ‘पावर’ !



काठमाडौं, १८ भदौ । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकार एअरबस ३३०—२०० सेरिजका २ थान ‘वाइड बडी’को खरिदमा आएको कमिशन र उत्पादक कम्पनीले दिएको छुटमा ब्रम्हलुट मच्चाएका कारण विवादमा तानिएका छन् ।

‘वाईड बडी’ खरिदमा कंशकारले अर्बौ रुपैयाँ हिनामिना गरेको समाचारहरु एकपछि अर्कोगरि आउन थालेपछि यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै चासो देखाएका छन् ।

प्रधानमन्त्री ओलीले कंशकारलाई पटक-पटक बोलाएर सोधपुछसमेत गरिसकेका छन् । कंशकारले प्रधानमन्त्रीसँगको पटक पटकको भेटवार्तामा आफूले भ्रष्टाचार नगरेको भनेर स्पष्टीकरण दिएपनि ओलीलाई उनको जवाफ चिक्त नबुझेपछि उनले अन्ततः कंशकारलाई कारबाहीको प्रक्रिया थालनी गर्दै पदबाट हटाउनेसम्मको आन्तरिक तयारी गरेका थिए ।

Related News:

निगमका महाप्रबन्धक कंशकार ‘वाइड बडी’को खरिदको कमिशन खाएर ब्रम्हलुट मच्चाउँदै, महालेखाले उठायो प्रश्न

पर्यटनमन्त्रीले संसदलाई गुमराहमा राखे, विमान खरिद प्रकरणमा मुछिए !

तर, शक्ति केन्द्र धाउन पल्किरहेका महाप्रबन्धक कंशकारको यतिवेला विभागीय मन्त्री रविन्द्र अधिकारीसँग गहिरो सम्बन्ध छ । पछिल्लो समय उनको ब्रेकफाष्ट, लञ्चदेखि डिनरसम्म मन्त्री अधिकारीसँगै हुने गरेका छन् ।

मन्त्री र निगमका महाप्रबन्धकबीच यस्तो हिमचिम बढ्नुमा पक्कैपनि आर्थिक सौदाबाजी र कारोबार नै प्रमुख कारण होला भन्ने अनुमानपनि राजनीतिक बजारमा नउठेका होईनन् । हुनपनि मन्त्री अधिकारीले पदबाट कंशकारलाई हटाउने सरकारको अन्तिम तयारी भैरहेको बेला प्रधानमन्त्री ओलीलाई कन्भिन्स गरेर उनको जागिर जोगाउन सफल भए ।

सिंहदरबार स्रोतका अनुसार पर्यटन सचिव श्री कृष्ण प्रसाद देवकोटाले महाप्रबन्धक कंशकारलाई केही दिन पहिले आफ्नो कार्यकक्षमा बोलाएर प्रधानमन्त्रीले तपाईलाई पदबाट हटाउन लाग्दै हुनुहुन्छ भनेर अग्रिम जानकारी गराएका थिए । तर, कंशकारले सचिव देवकोटासामू आफूले केहीपनि गलत काम नगरेको हबला दिँदै कसरी हटाउनुहुँदो रहेछ म पनि हेर्छु भन्ने आशयको कडा जवाफ फर्काएका थिए ।

कंशकार र सचिव देवकोटाबीच जे जस्तो कुराकानी अथवा छलफल चलेपनि यता प्रधानमन्त्री ओलीले उनलाई हटाउनेगरि तयारी थाल्ने निर्देशन दिएका थिए । अब बस्ने मन्त्रिपरिषद बैठकमा कंशकारलाई हटाएर नयाँ सक्षम व्यक्तिलाई महाप्रबन्धक बनाउनुपर्नेबारे प्रधानमन्त्री ओलीले आफू निकटसँग छलफलसमेत चलाएका थिए ।

स्रोतले भन्यो, प्रधानमन्त्री त उहाँलाई हटाउनको लागि हुनुहुन्थ्यो । दुई हप्ताअघिदेखि नै नयाँ मान्छेको खोजीमा हुनुहुन्थ्यो । यो बीचमा मदन खरेल, केबी लिम्बुलगायतका मान्छेहरुसँग छलफल भएको थियो । खासमा कंशाकारको ठाउँमा खरेलजीलाई ल्याउने तयारी थियो ।

निगमको कार्यकारी अध्यक्षमा नयाँ मान्छे नियुक्ती गर्ने सरकारको तयारी थियो । यसो गर्दा अहिलेका महाप्रबन्धक कंशकारले नैतिकताका आधारमा राजिनामा दिनुपर्दथ्यो । यस्तैखाले तयारी भैरहेको बेला सचिवले कंशकारलाई पूनः मन्त्रालयमा बोलाएका थिए ।

उनले कंशकारसँगको भेटवार्ताको सुरुवातमै मैले तपाईलाई बचाउन सकिन् भनेर सम्वाद सुरु गरेका थिए । सचिवको यो सम्वाद सुरुवातसँगै कंशकारपनि एकछि अक्क न बक्क बनेका थिए ।

त्यसपछि पूनः सचिव देवकोटाले अब निगमको कार्यकारी अध्यक्षमा मदन खरेललाई ल्याउने भनेर फाईल तयार भैसक्यो भन्ने जानकारी कंशकारलाई गराए । यो थाहा पाएपछि कंशकार निकै ठूलो स्वरमा कड्किएका थिए । उनले सचिवसँग भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, “निगम जहाजबिहीन भएको बेला मैले नयाँ जहाज ल्याएँ । मैले केही गल्ती गरेको छैन । फाईलहरु हेर्नुहोस् ।”

तर यता सचिव पनि के कम कंशकारलाई दबाब दिन रोकिएनन् । उनले भनिहाले,”हेर्नुहोस, सुगतजी तपाईले ठूलो अनियमितता र भ्रष्टाचार गर्नुभयो । वाईड बडी खरिदमा ठूलो भ्रष्टाचार भएको छ भनेर कुरा उठिसकेको छ।”

सचिवको कुरा सुनेपछि कंशकार बाहिरिन लागेका थिए । त्यतिकैमा पूनः सचिवले तपाई अब पदमुक्त हुँदैहुनुहुन्छ महत्वपूर्ण निर्णयहरु नगर्नुहोस् है भनेर आग्रह पनि गर्न भ्याए ।

स्रोतका अनुसार प्रधानमन्त्रीले नै आफूलाई कारबाही गर्न लागेको खबर सचिवबाट आधिकारिक रुपमा पाएपछि कंशकारले मन्त्री अधिकारीलाई सिधै फोन घुमएका थिए । मन्त्री अधिकराीले पनि कंशकारलाई हटाउन लागिएको र यसको लागि प्रस्ताव नै आएको पुष्टि गरिदिए । तर मन्त्रीले कंशकारलाई आफूले यसबारेमा प्रधानमन्त्रीसँग कुरा गर्ने र कुनै चिन्ता नलिनको लागि आग्रहपनि कंशकारलाई गरेका थिए ।

मन्त्रीले कंशकारलाई भनेको कुरा उल्लेख गर्दै स्रोतले भन्यो,”अब तपाईलाई कारबाही गर्ने प्रस्ताव आएको छ । तर, म प्रधानन्त्री र वामदेवसँग कुरा राख्छु ।”

नभन्दै मन्त्री अधिकारी वाईड बडी खरिदमा भ्रष्टाचार लागेको आरोपमा प्रधानमन्त्रीले बर्खास्त गर्न लागेका महाप्रबन्धक कंशकारको बचाउ गर्न लागिपरे । मन्त्री अधिकारीले महाप्रबन्धक कंशकारले राम्रो काम गरेको र वाईड बडीमा कुनै कमिशन नखाएको र भ्रष्टाचारपनि नगरेको प्रधानमन्त्रीलाई विश्वास दिलाए ।

कंशकारको ठाउँमा नयाँ जिम्मेवारी सम्हाल्न आउनै लागेका मदन खरेललाई रोक्न महाप्रबन्धक कंशकार मन्त्री अधिकारी प्रयोग गर्न सफल भए । स्रोतका अनुसार महाप्रबन्धक कंशकारको मन्त्री अधिकारी र सचिव देवकोटासँगपनि उतिकै प्रगाढ सम्बन्ध छ । आफूलाई हटाउनको लागि क्याबिनेटमा पुग्न लागेको फाईलबारे जानकारी उनले सचिव र मन्त्रीबाटै पाएपछि महाप्रबन्धकको जागिर जोगाउन पूनः एकपटक कंशकार सफल भएका छन् ।



प्रतिक्रिया दिनुहोस्