Logo

२२ तलाको धरहरा चढ्न तयार हुनुहुन्छ ?



भदौ १९, काठमाण्डौ । भूकम्पले भत्काएका संरचनामध्ये सबैभन्दा चर्चामा रहेको ऐतिहासिक संरचना धरहरा थियो । यसलाई पूर्ववत अवस्थामा पुर्याउनका लागि चौतर्फि दबाब सृजना भए पनि तीन वर्षसम्म पुनः निर्माणको काम अघि बढ्न सकेन । पुनः निर्माणको विषयमा लामो समय विवाद भयो । अहिले बल्ल पुनः निर्माणका लागि नयाँ प्रक्रिया सुरु भएको छ ।

भूकम्पले भत्किएको धरहरा पुनःनिर्माणका लागि आह्वान गरिएको ठेक्काको आर्थिक प्रस्ताव आठ पटकसम्म स्थगित भएको थियो । नवाँै पटकको आर्थिक प्रस्तावपछि नयाँ कम्पनीलाई निर्माणको जिम्मा दिइएको छ ।

निर्माण कम्पनी जिआइइटीसी–रमन जेभीको आर्थिक प्रस्ताव पारित भएको हो । यो कम्पनीले यसै वर्षको असोजबाट धरहरा पुनः निर्माणको काम थाल्ने छ । ३ अर्व ४८ करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी आर्थिक प्रस्ताव पारित भएको छ ।

धरहरा पुनः निर्माणको विषय सधैँभरी चर्चा र विवादमा रह्यो । यसपटकको प्रक्रिया विना अवरोध अगाडि बढ्नेमा विश्वस्त हुन सकिने अवस्था छैन । पहिलो पटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्री केपी ओलीले ‘मेरो धरहरा मै बनाउँछु’ अभियान नै सुरु गरे । तर यो अभियान पनि अलपत्र पर्यो । ओलीको अभियान अन्तरगत धरहरा पुनःनिर्माण कोषमा रु २४ करोड जम्मा भइसकेको छ । यो रकम अब धरहरा पुनः निर्माणकै लागि प्रयोग गरिने छ ।

बाँकी स्रोत सरकारले नै व्यहोर्ने भएको छ । अब बन्ने धरहरामा लिफ्ट र भर्याङसमेत राखिनेछ । धरहरा गुम्बज र गजुरसहित ७२ मिटर अग्लो बन्नेछ । भत्किएको धरहराको पूर्वपट्टि नयाँ धरहरा निर्माण गरिनेछ । कूल २४ रोपनी क्षेत्रफलमा धरहरा, पार्किङ र बगैँचासमेत बनाइने भएको छ ।

भीमसेन थापाका पालामा बनेको ऐतिहासिक सम्पदा धरहरा तीन वर्षअघिको भूकम्पसहित चारपटक ढलिसकेको छ । धरहरा पटकपटक ढलेकाले पुरानो संरचना यथावत् सिसाले छोपेर २२ तलाको नयाँ बनाउने प्राधिकरणको तयारी छ । यसअघिको धरहरा नौ तलाको थियो । नयाँ धरहरा बनाउन आधुनिक निर्माण सामग्रीको प्रयोग गरिने भएको छ ।



प्रतिक्रिया दिनुहोस्