Logo

काठमाण्डौ उपत्यकामा सवारी दुर्घटनाको तथ्याङ्क डरलाग्दो



भदौ १९, काठमाण्डौ । ट्राफिक प्रहरीले विभिन्न जनचेतना मुलक कायक्रम सञ्चालन गरिरहेपनि दुर्घटनामा कमी आउन सकेको छैन । विगतका बर्षहरुमा भन्दा यो बर्ष सवारी दुर्घटनामा वृद्धि भएको तथ्याङ्कले देखाएको छ । काठमाण्डौ उपत्यकामा कूल दुर्घटनाको ८० प्रतिशत भन्दा धेरै चालकको लापर्वाहीले हुने गरेको छ ।

नेपालमा न त सडक व्यवस्थित छ, न त सवारी । ट्राफिक नियम र व्यवस्थापनमा पनि धेरै कमजोरी छन् । जसका कारण सडकमा हुने दुर्घटनाको संख्यामा कमी आउन सकेको छैन । काठमाण्डौ उपत्यकामा हुने दुर्घटनाको पछिल्लो तथ्याङ्कअनुसार साना सवारी साधन बढि दुर्घटनामा पर्ने गरेको छ ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार अघिल्ला वर्षको तुलनामा यो बर्षमा साना सवारी साधनको दुर्घटनामा वृद्धि भएको छ । उपत्यकामा प्रतिदिन ९ लाख सवारी साधन गुड्ने गरेका छन । गुडेका मध्ये साना सवारी साधन दुर्घटनामा हुने गरेको छ । महाशाखाले सवारी दुर्घटनाको मुख्य कारण चालकको लापरबाहीलाई मानेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कूल दुर्घटनाको ८० प्रतिशत दुर्घटना चालकको लापर्वाहीले हुने गरेको हो ।

आर्थिक वर्ष २०७४–७५ मा काठमाण्डौ उपत्यकामा भएको ६ हजार ३ सय ८१ दुर्घटनामध्ये चालकको लापर्वाहीले ५ हजार ९ सय ६१ वटा दुर्घटना भएको छ । चालकको लापरबाहीअन्तरगत तीव्र गतिका कारण ७१, मादक पदार्थ सेवनले २२१ र ओभरटेकका कारण २९ वटा दुर्घटना भएका छन् । त्यसैगरी यान्त्रिक गडबडीले ४४, पैदलयात्रुको लापर्वाहीले तीन र सडकमा भएको समस्याका कारण ४८ वटा दुर्घटना भएका छन् । दुर्घटनामा परी २ सय १९ गम्भीर र चार हजार ३ सय ३३ सामान्य घाइते भएका छन् ।

बाटो साँघूरो, तीव्र गति र जथाभावी चलाउँदा धेरै सडक दुर्घटना हुने गरेको छ । बाग्मती अञ्चलमा दर्ता भएका ११ लाख सवारी साधनमध्ये उपत्यकामा मात्र झण्डै ९ लाख सवारी साधन ओहोरदोहोर गर्ने गर्र्दछन । आव २०७४–७५ मा मात्र सवारी दुर्घटनाका कारण १९४ जनाको मृत्यु भएको छ । दुर्घटनामा मरेका १९४ मध्ये १४७ पुरुष र ४७ महिला छन् । कूल मृत्युमध्ये मोटरसाइकल र स्कुटर दुर्घटनामा मात्र १११ को मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०७५–७६ को साउन महिनासम्ममा ४६४ सवारी दुर्घटना भइसकेका छन ।



प्रतिक्रिया दिनुहोस्