भदौ २२, काठमाण्डौ । देशमा रोजगारी नपाएर विदेशीएका लाखौँ नेपाली विदेशी भूमिका कष्टकर श्रम गर्न बाध्य छन् । आर्थिक उन्नतीका लागि वैदेशिक रोजगारीमा गएका युवायुवतीको उतै मृत्यु हुने क्रम बढ्दो छ । सरकारको तथ्याङ्कअनुसार वैदेशिक रोजगारीमा गएकामध्ये विगत आठ वर्षमा ५ हजार ८ सय ३२ नेपाली बाकसमा फर्किएका छन् भने ७ सय ८७ जना अङ्गभङग घर फर्किएका छन् ।
आफू र आफ्नो परिवारको पेट पाल्नकै लागि विदेशिएका नेपालीले पठाएको रेमिटेन्सले नै देशको अर्थतन्त्र धानिएको छ । हजारौं सुन्दर सपना पूरा गर्ने उद्देश्यले विदेशीको भूमि पुगेका नेपाली युवायुवती बाकसमा फर्किने गरेका हुन् । कोही अलिअलि धन कमाएर फर्किएका छन त कोही बाटोमै लुटिएर । हरेक उपभोग्य सामग्री विदेशबाट आयात गरेर ‘परनिर्भर’ बन्नुपरेको देशमा केही वर्षयता लास आयात बढ्दो भनेर टिप्पणी हुन थालेको छ । रेमिट्यान्सले धानेको नेपाली अर्थतन्त्रको सामाजिक मूल्य निकै महँगो बनिरहेको छ । बैदेशिक रोजगार प्रबद्र्दन बोर्डको तथ्यांक अनुसार विगत आठ वर्षमा ५ हजार ८ सय ३२ नेपाली बाकसमा फर्किएका छन् भने ७ सय ८७ जना अङ्गभङग भएर घर फर्किएका छन् ।
बेरोजगारीले गाँजेपछि जीवनका आधारभूत आवश्यकता पूरा गर्नकै लागि ऋण काडेर दैनिकजसो १५ सय जति नेपाली विदेसिन्छन् । आर्थिकस्तर सुधार्ने अभिलाषा लिएर जहाजमा उडेका मध्ये सरदर ३ जना नेपाली भने बाकसमा फर्कने अवस्था छ । बाकसमा फर्किनेले त परिवारका र आफन्तको दुःख देख्न परेन, तर अङ्गभङग वा बिरामी भएर फर्किनेले विदेश जानु अघि देखेका सपनालाई यथावत राख्दै जिन्दगीभर पीडा भोग्नुपर्छ । वैदेशिक रोजगारीका लागि लाखौं खर्च गरेर विदेश पुगेका नेपालीहरूको लास मात्र आएको छैन उनीहरू विदेशमै अलपत्र परेका छन । दैनिक आउने सरदर तीन वटा बाकस तिनै युवाका हुन्छन, जो सन्तानको शिक्षा, वृद्ध आमा–बाको उपचारलगायत पारिवारिक जिवनको खर्च टार्न विदेशिएका हुन्छन् ।
वैदेशिक रोजगारीमा रहेकाहरु कसैको प्राकृतिक मृत्यु हुने गरेको छ भने धेरै जसो तनाव, डिप्रेसन, सडक दुर्घटना, आत्महत्या, लगायतका कारण मृत्युवरण गर्न वाध्य छन् । धेरै तापक्रममा काम गर्ने अनि एकैचोटि कम तापक्रम भएको कोठामा बस्दा समेत धेरैले ज्यान गुमाएका छन् ।
सरकारले अकालमै ज्यान गुमाउन विवस आफ्ना नागरिकको लागि खासै चासो देखाएको छैन। कामको सिलसिलामा अङ्गभङग भएकालाई स्वदेशमा ल्याई निशुल्क उपचार गराउँने भनि हालै निर्णय भएपनि त्यसको कार्यान्वयन व्यवहारतः देखिएको छैन ।