चितवन, २४ भदौ । गोरखा फुजेल प्रकरणमा तानिएका आरोपित छविलाल पौडेललाई आजैबाट थुनामुक्त गर्न चितवन जिल्ला अदालतले अनुरोध गरेको छ ।
अदालतले आज मात्रै सो घटनामा आरोप लागेका छविलाल पौडेलसहित १२ जना प्रतिवादीलाई सफाईको फैसला गरेको थियो । सफाईको फैसलालगत्तै चितवन अदालतले कारागार कार्यालय डिल्लीबजार काठमाडौंलाई पत्र लेख्दै थुनामा रहेका पौडेललाई थुनामुक्त गर्न आग्रह गरेको हो ।
जिल्ला अदालतका श्रेस्तेदार गेहेन्द्रराज पन्तको हस्ताक्षर रहेको पत्रमा भनिएको छ–‘नन्दप्रसाद अधिकारीको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी छविलाल पौडेल समेत भएको कर्तव्य ज्यान मुद्धामा आज यस अदालतबाट प्रतिवादी छविलाल पौडेल समेतलाई प्रस्तुत मुद्धाको अभियोग दावीबाट सफाई पाउने ठहरी फैसला भएको हुँदा सम्मानित सर्वोच्च अदालतको २०७५ असार २४ को पत्रले प्रस्तुत मुद्धाबाट थुनामा रहेका प्रतिवादी छविलाल पौडेललाई अन्य व्यहोराले थुनामा राख्नु नपर्ने भए प्रस्तुत मुद्धाबाट आजै थुनामुक्त गरिदिनु हुन अनुरोध गरिन्छ ।’
चितवन जिल्ला अदालतको पत्रमा सर्वोच्च अदालतलाई बोधार्थ दिईएको छ ।
Share this: