Logo

मुख्यमन्त्री लालबाबु राउतले पहिले काखा, अहिले पाखा



काठमाडौं २५ भदौ ।  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गत वैशाख ११ गते एक दलित बालिकाको पढाइको अभिभावकत्व लिए । ती थिइन्– साढे ४ वर्षीया लक्ष्मीनियाकुमारी दास । धेरैलाई लाग्न सक्छ– उनलाई अब पढाइमा कुनै कठिनाइ छैन होला ।

पाँच महिना बिते । सुरुमा केही दिन बाक्लै स्कुल गइन् । त्यसपछि जानै छाडिन् । कारण सोधखोज गर्न न मुख्यमन्त्री राउत पुगे, न उनका कोही सहायक नै । दुई भाइ–बहिनीलाई घरमा खेलाएर दिनभर बस्नुपर्ने बाध्यता मुख्यमन्त्रीको ‘कृत्रिम सन्तान’ हुँदा पनि लक्ष्मीनियालाई हटेन ।

मुख्यमन्त्री राउतले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत धनुषाको मिथिला विहारी नगरपालिका ८ स्थित मिथिला आधारभूत विद्यालय, कचुरीमा कक्षा १ मा नयाँ भर्ना भएकी दासको अभिभावकत्व स्वीकारेका थिए । त्यही प्रयोजनका लागि आयोजित समारोहमा माला लगाइदिएर काखमा बोके । खुसीले मुस्कुराउँदै भने, ‘अब यिनको पढाइको सम्पूर्ण जिम्मा मेरो ।’

एक गैरसरकारी संस्था र स्थानीयवासीको सहयोगमा मुख्यमन्त्री अभिभावक बन्ने सौभाग्य उनलाई प्राप्त भयो । अति विपन्न परिवारकी लक्ष्मीनियाँले अब राम्रो शिक्षादिक्षा पाउने र भविष्य उज्जवल बन्नेमा बुवा गढवा दास र आमा शीलादेवी ढुक्क भए ।

त्यसपछि वास्तै छैन

परिवारको आर्थिक अवस्था कमजोर छ । बुवा विहानै अटो चलाउन जान्छन् । आमाले खेतबारीमा काम गर्नुपर्छ । भाइ–बहिनी हेर्ने भाग लाग्छ लक्ष्मीनियालाई । आमालाई खेतीमा सघाउन पनि जानुपर्छ । विद्यालयका अनुसार भदौमा उनी दुई दिन मात्रै पढ्न गइन् । असारमा उस्तै । साउनमा १५ दिन गर्मी बिदा भयो । त्यसअघि घएको प्रथम त्रैमासिक परीक्षामा समेत सामेल भइनन् । वैशाख र जेठमा अलि बाक्लै गए पनि त्यसपछि त्यो क्रम क्रमशः घट्यो ।

‘राम्ररी पढाइदेलान् । काममा दुःख गरेर भए पनि छोरीलाई पठाउँला भन्ने थियो । हेर्न–सोध्न कोही आएनन्’, आमा शीलादेवीले भनिन्, ‘सुरुमा पठायौं पनि । तर, अहिले कामको बेला पठाउन सकिएन ।’

विद्यालयका प्रधानाध्यापक राम विलास यादवले मुख्यमन्त्री अभिभावक भएकी बालिका विद्यालय आए÷नआएको विषयमा कहिल्यै कसैले नसोधेको बताए । ‘त्यसबेला निकै तामझामसाथ कार्यक्रम भएको थियो’, उनले भने, ‘त्यसपछि ती बालिका नियमित छिन् वा छैनन्, उनको के–कस्तो अवस्था छ बुझ्न मुख्यमन्त्रीका तर्फबाट कोही आएको छैन ।’

अरू ‘अभिभावक’ पनि उस्तै

सोही कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले कचूरीको डोम वस्तीका ६ वर्षिय श्रवणकुमार मल्लिकको अभिभावकत्व ग्रहण गरेका थिए । उनकी छिमेकी अम्बिका मल्लिकको अभिभावकत्व नगरपालिकाकी उपमेयर अनिता साहले लिएकी थिइन् । डोम परिवारका यी दुई बालबालिका पनि विद्यालय नगई घरमै बस्दै आएका छन् ।

महिनामा एकदुई दिन विद्यालय गए पनि त्यहाँ अन्य बच्चासँग झैंझगडा हुने गरेकाले पढ्न नजाने गरेको श्रवणकी आमा इन्दुक मल्लिकले बताइन् । ‘हाम्रा बालबच्चालाई विद्यालयमा राम्ररी ध्यान दिएर शिक्षकले पढाउँदैनन् । अरु बच्चाले डोम भनेर हेलाँ गर्छन् । यस्तोमा कुटाकुट गर्न के जानु भनेर बच्चाहरु घरमै बस्छन्’, उनले भनिन्, ‘मन्त्रीले एकपल्ट गाउँ आएर तीन–चार वटा कपी, पेन्सिल र ब्याग दिएका थिए । त्यसपछि कसैले वास्तै गरेको छैन ।’

नगरपालिका प्रमुख अनिलकुमार यादवले अभिभावकत्व लिएकी प्रितिकुमारी महरा भने विद्यालयमा नियमित छिन् । तर, उनको अवस्था वा उनको पढाई लेखाइबारे बुझ््न पनि नगरप्रमुखले कुनै चासो नदेखाएको विद्यालयका शिक्षकहरु बताउँछन् । स्कुलका अनुसार चार जनामध्ये प्रीति मात्र चौमासिक परीक्षामा आइन् । तीन जना आएनन् । अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्