भदौ २६, काठमाण्डौ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले कात्तिक १६, १७ र १८ गते महाधिवेशन गर्ने भएको छ । संघको सोमबार सकिएको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दै विधान पारित गर्न पार्टी कार्यालयमा दर्ता गराउने निर्णयसमेत गरेको छ ।
गत शुक्रबार कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको बैठकले कात्तिकमा महाधिवेशन गर्न संघलाई निर्देशन दिएको थियो । संघमा आन्तरिक द्वन्द्व चर्किएपछि पार्टी सभापति शेरबहादुर देउवाले सहमहामन्त्री महतको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरी विवाद मिलाउन निर्देशन दिएका थिए ।
संघका अध्यक्ष नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्लेबीच विवाद चर्किएपछि पछिल्लो समय संघमा दुवै पक्षले समानान्तर गतिविधि गरिरहेका थिए । पार्टी नेतृत्वको सक्रियतपछि संघको महाधिवेशन हुन लागेको हो । गत शनिबार सुरु भएको संघको बैठक सोमबार सकिँदा विधानसमेत बनेको छ ।
संघका केन्द्रीय सदस्य सुशील भट्टले दिउको जानकारी अनुसार विधान मंगलबार पार्टी कार्यालयमा दर्ता गरिनेछ । भदौ २८ गते बस्ने कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले संघको विधान पारित गर्ने उनले बताए ।
संघले महाधिवेशनका लागि तल्लो तहदेखि केन्द्रीय अधिवेशनको कार्यतालिका बनाएको छ भने महाधिवेशन तयारीका लागि आवश्यक समितिसमेत गठन गर्ने निर्णय गरेको छ ।
यस्तो छ अधिवेशन तालिका :
असोज ७ देशैभरका माबी र क्याम्पस अधिवेशन ।
असोज १२ गाउँपालिका, उप–महारनगरपालिका अधिबेशन
असोज १५ मा प्रदेश क्षेत्र अधिवेशन
असोज २१ मा ७७ वटै जिल्लामा जिल्ला अधिबेशन
असोज २३ मा उपत्यकाभित्रका क्याम्पस अधिवेशन
कात्तिक १० र ११ मा ७ वटै प्रदेशको अधिवेशन ।
कात्तिक १६ गते महाधिवेशन उद्घाटन ।
बैठकले उमेरको ३२ वर्षको लाग्ने भनिएको हदबन्दी हटाएको पनि भट्टले जानकारी दिए । तर नेपाली काग्रेस केन्द्रीय समितिले विधान अनुमोदन गरेपछि मात्र कार्यान्वयन हुनेछ ।