काठमाडौं, २७ भदौ । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल मुख्यमन्त्रीले हिन्दू नारीको पर्व हरितालिका (तीज)का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
तीज पर्वले सामाजिक र राजनीतिक जागरण ल्याउन ठूलो भूमिका खेल्दै आएको उल्लेख गर्दै उहाँले राणाशासन, पञ्चायती व्यवस्था र शाही शासनको कठीन अवस्थामा नेपाली महिलाले गरेको सङ्घर्ष यो अवसरमा स्मरण गर्दछु भन्नुभएको छ ।
विगतमा तीज पर्वमा गीतमार्फत राजनैतिक जागरण ल्याएर आन्दोलनलाई उत्कर्षमा पु¥याइएको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै मुख्यमन्त्री पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न अहिले उत्तिकै ध्यान दिन आवश्यक भएको बताउनुभएको छ ।
हरितालिका (तीज) पर्व पारिवारिक मिलन गराउने र सामाजिक सद्भाव बढाउने पर्व भएको उल्लेख गर्दै उहाँले सन्देशमा पारिवारिक र सामाजिक सामीप्यता बढ्दा मुलुकमा विश्वासको वातावरण बन्छ, जसले राष्ट्रिय एकता र मेलमिलाप बढाउन मद्दत गर्छ भन्नुभएको छ ।