Logo

प्रधानमन्त्रीले घर फर्किनुस् भन्दैमा जाने र आउनुस् भन्दैमा आउने मान्छे हौइनौँ हामी : चन्द



असोज २,काठमाण्डौ । निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै कञ्चनपुरबाट काठमाण्डौ आएकी शारदा चन्दले दोषी पहिचान नभएसम्म जिल्ला नफर्कने बताएकी छिन् ।

महिला अधिकारकर्मी चन्दले निर्मला बाबुआमालाई भेट्दा जसरी भए पनि दोषी पहिचान गरेर कारबाही गर्ने आश्वासन दिए पनि पूर्ण विश्वास गर्न नसकिएको बताइन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै चन्दले केही साथीहरु काम विशेषले कञ्चनपुर फर्किए पनि दबाबका लागि अधिकांश अधिकारकर्मी काठमाण्डौमा नै रहने जानकारी दिइन् ।

सोमबार प्रधानमन्त्री ओलीले निर्मलाका बाबुआमासहित महिला अधिकारकर्मी र त्यस क्षेत्रका नेताहरुलाई भेटेर आश्वस्त पार्ने प्रयास गरेका थिए ।

“हामी न्यायका लागि काठमाण्डौमा संघर्ष गर्छौँ । प्रधानमन्त्रीले घर फर्किनुस् भन्दैमा जाने र आउनुस् भन्दैमा आउने मान्छे हौइनौँ हामी । अहिलेसम्म सरकारले उदासिनापन देखाएको छ ।” चन्दले भनिन् ।

न्याय खोज्दा गोली चलाउने सरकारसँग विश्वास गर्न नसकिएको उनले बताइन् । तर डिआइजीको नेतृत्वको उच्चस्तरीय छानविन समिति गठन हुनुलाई आफूहरुले सराकात्मक रुपमा लिएको चन्दले बताइन् ।



प्रतिक्रिया दिनुहोस्