काठमाडौँ, ४ असोज / गतिशील राजनीतिक नेतृत्व, राष्ट्र निर्माण र त्यसको उन्नयनका निम्ति उसको दृढ सङ्कल्प र समर्पणबाट समृद्धि हासिल हुने दृष्टान्त एक जना भारतीय विद्वान्ले प्रस्तुत गरेका छन् ।
एकीकृत विकास अध्ययन प्रतिष्ठान, काठमाडौँ विश्वविद्यालय र बार्बरा फाउण्डेशनले आज राजधानीमा आयोजना गरेको ‘नेपाल, भारत र छिमेक ः आर्थिक सुधारका सम्भावना, नवप्रवर्तन र सम्पर्क’ विषयक प्रवचनमा उनले राजनीतिक नेतृत्वको देशप्रति समर्पण र जनताका विकासका आकाङ्क्षा सम्बोधन गर्ने दृढ इच्छाशक्ति र सङ्कल्पका कारण बितेका चार वर्षमा भारत सामाजिक–आर्थिक समृद्धि हासिल गर्न सफल भएको बताए ।
भारत सरकारले प्रवद्र्धन गरेको विद्वत् समूह नीति आयोगका उपाध्यक्ष राजीव कुमारले विविध कारण नेपालसँग बिग्रेको भारतको सम्बन्ध पछिल्ला दिनमा सुमधुर बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतका त्रुटिबाट पाठ सिक्दै उज्ज्वल भविष्यतर्फ हामी उन्मुख हुनुपर्छ, नेपालसँग मिलेर काम गर्न भारत हरदम तयार छ ।”
उपाध्यक्ष कुमारले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) जस्ता क्षेत्रीय सङ्गठनमार्फत पनि भारतले छिमेकको विकासमा जोड दिएको उल्लेख गर्दै पर्यटन, व्यापार, प्रविधि र यातायात सम्पर्क विस्तारबाटै नेपालको आर्थिक समृद्धि सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो ।
“पर्यटनपछि स्वच्छ ऊर्जा उत्पादन र त्यसको भारत निकासी भएपछि त्यसले नेपालको अर्थतन्त्रलाई नयाँ मोड दिनेछ”, उहाँले भन्नुभयो ।
उपाध्यक्ष कुमारले भारत र नेपालका सरकार विकास–निर्माण तथा सम्पर्क सञ्जालका परियोजनालाई निर्धारित समयमा पूरा गर्न पूर्ण प्रतिबद्धताका साथ लागिपरेका बताउँदै नेपालका तराई क्षेत्रमा रेलमार्गलगायत काम द्रुत गतिमा हुनु र तिनको नयाँ दिल्ली र काठमाडौँले निरन्तर अनुगमन गर्नुलाई दुवै देश पारस्परिक लाभका क्षेत्रमा सहकार्य गर्न प्रतिबद्ध रहेको सन्देश प्रवाह गर्छ भन्नुभयो ।
प्रतिष्ठानका कार्यकारी निर्देशक विष्णुदेव पन्तले भारतले हासिल गरेको आर्थिक विकासबाट नेपालले अधिक लाभ प्राप्त गर्न नसकेको बताउँदै भारतको थप सहयोग नेपालका निम्ति अपरिहार्य भएको बताउनुभयो ।
काठमाडौँ विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकाजुले शिक्षाको विकासबाटै विकासका अन्य फाँटमा फड्को मार्न सकिने भएकाले भौतिक प्रगतिका निम्ति शैक्षिक उन्नयनलाई पनि उत्तिकै महत्व दिनुपर्ने विचार व्यक्त गर्नुभयो । रासस