असोज ६, काठमाण्डौ । नेपाली कांग्रेसले विधान संशोधनका लागि प्रारम्भिक मस्यौदा तयार गरेको छ ।
कांग्रेस केन्द्रीय विधान संशोधन मस्यौदा समितिले शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दे आफ्नो विधानलाई संघीयताअनुसार परिमार्जनको प्रक्रिया सुरु गर्न प्रारम्भिक मस्यौदा तयार गरेको जनाएको हो । मस्यौदामा जिल्ला जिल्लाबाट प्राप्त सुझाव, हेटौंडामा भएको सभापतिहरूको भेलाबाट प्राप्त भएको सुझाव तथा जनताहरुबाट सीधै प्राप्त सुझावलाईसमेत समेटिएको समितिका प्रवक्ता एवं केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए ।
तीनै तहको निर्वाचनमा हार व्यहोरेको कांग्रेसले आगामी निर्वाचनमा आफू पहिलो हुने गरी विधान संशोधन गर्ने तयारी गरेको छ । विधानमा वीपीका विचारलाई निरन्तरता दिँदै संघीयताबमोजिमका संरचनाहरुसमेत समावेश गरिने र पार्टीमा केन्द्रीय समितिदेखि गाउँ टोल समितिसम्म ८ वटा तह निर्माण हुने व्यवस्था गरिएको समितिका प्रवक्ता लेखकले जानकारी दिए ।
त्यस्तै समिति संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले समितिबाट मस्यौदा सर्वसम्मत रुपमा पारित भएको भन्दै आगामी असोज ८ देखि १३ गते सम्म ६ टोलीले देशका १२ स्थानमा मस्यौदा माथि छलफल गराउने र दफावार सुझाव संकलन गर्ने बताए । छलफलकाबाट सुझाव प्राप्त भएपछि त्यसैलाई अन्तिम मस्यौदाका रुपमा केन्द्रीय समितिमा पेश गरिने समिति संयोजक खड्काले जानकारी दिए ।
खड्काले काग्रेसलाई बलियो बनाउनका लागि आवश्यक जनमुखी कार्यक्रम विधानमा समावेश गरिने दाबी गरे । नेपाली काग्रेसले अन्तिम मस्यौदा छलफलका लागि दशै र तिहारको बिचमा केन्द्रिय समिति बैठक बोलाउने तयारी समेत गरेको छ ।