काठमाडौं, ६ असोज । यही असोज १२ गतेबाट अल नेपाल प्रदर्शनमा आउने नेपाली चलचित्र ‘अनुराग’को यतिवेला चर्चा तथा परिचर्चा भैरहेको छ ।
चलचित्र ‘छक्का पन्जा ३’को ट्रेलर सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा कलाकारद्धय दिपाश्री निरौला र दिपकराज गिरीले पत्रकार ऋषि धमलाद्धारा निर्मित चलचित्र अनुराग हेर्न आफूहरु हलमै जाने प्रतिक्रिया दिएका थिए ।
निरौलाले भनिन्,‘पत्रकार ऋषि धमलाले निर्माण गरेको चलचित्र भएकोले पनि हलमै गएर हेर्छु । म यही मञ्चबाट अरुलाईपनि यो चलचित्र हेर्न जानुहोस् भनेर आग्रह गर्दछु ।’
उनले पत्रकार धमलाको यो पहिलो चलचित्र भएकोले आगामी दिनमा अब यो क्षेत्रमा अन्य चर्चित व्यक्तिहरुले पनि हात हाल्ने विश्वास व्यक्त गरिन् । उनले चलचित्र अनुरागको ट्रेलर आफूले हेरिसकेकोले चलचित्र धेरै राम्रो बनेको प्रतिक्रिया दिईन् । उनले भनिन्,‘चलचित्र राम्रो बनेको छ । यो चलचित्रले युवा पुस्ताको मन जित्छ ।’
त्यस्तै निर्माता समेत रहेका चर्चित कलाकार दिपकराज गिरीले पनि पत्रकार ऋषि धमलाले नेपाली राजनीतिक क्षेत्रमा पत्रकारितामार्फत तहल्का मच्चाएको सुनाउँदै अब चलचित्र क्षेत्रभित्र रहेको राजनीतिसँग जुध्न आग्रह गरे । उनले भने,‘ऋषिजी यो क्षेत्रमा धेरै राजनीति छ । तपाईले अहिलेसम्म अलि अलि बुझ्नुभयो होला, अब असोज १२ गतेसम्म धेरै कुरा बुझ्नुहुन्छ।’
गिरीले अनुराग चलचित्र ‘सुपरहिट’ हुनेसमेत विश्वास दिलाए । उनले पनि चलचित्र हेर्न आफू आँतुर रहेको सुनाउँदै सबैलाई हलमै गएर चलचित्र हेर्न आग्रह गरे ।
त्यस्तै बरिष्ठ हाँस्य कलाकार किरण केसीले पनि पत्रकार ऋषि धमला नेपाली पत्रकारिताका सर्वमान्य व्यक्ति भएकोले अब चलचित्र क्षेत्रमा आएकोले आफूहरु स्वागत गर्न आँतुर रहेको सुनाए । उनले अनुराग राम्रो चलचित्र बनेकोले सफलता हाँसिल गर्ने विश्वास दिलाए ।
त्यस्तै अर्का चर्चित कलाकार जितु नेपालले पनि आफूलाई पत्रकार धमला मनपर्ने व्यक्ति भएकोले धमलाद्वारा निर्मित चलचित्र अनुराग हेर्न हलमै जाने प्रतिबद्धता जनाए । उनले प्रश्न गरे,‘जनता जान्न चाहन्छन् ऋषिजी, तपाईको चलचित्र कस्तो बनेको छ? राम्रो छ कि छैन ?’
उनले चलचित्रको ट्रेलरले युवा पुस्ताको मन जितेको बताउँदै यो चलचित्र हेर्न युवा पुस्ताहरुको भीड लाग्ने विश्वास दिलाए । उनले थपे,‘म त स–परिवार यो चलचित्र हेर्न हलमै जान्छु।’
त्यस्तै चर्चित नायिका, निर्मात्री एवम् नयाँ शक्ति पार्टी नेपालकी नेतृ करिश्मा मानन्धरले पनि पत्रकार धमलालाई आज फोन गरी चलचित्र हेर्न आफूपनि हलमै जाने बताएकी थिईन् ।
उनले धमलासँग भनेकी थिईन्,‘ऋषिजी तपाईले धेरै राम्रो काम गर्नुभयो, यो कामलाई तीन करोड नेपाली जनताले रुचाएका छन् । म पनि स–परिवार हलमै गएर तपाईको चलचित्र हेर्छु ।’