काठमाडौ ७ असोज । अस्पताल ल्याउनुअगावै बाटोमै मृत्यु भइसकेको एक बच्चा जिउँदै छ भन्दै स्थानीयले शनिबार राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तोडफोड गरेका छन् । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित तेरहौता वीरेन्द्र बजारबाट दुई सयको संख्यामा आएका मृतक बच्चाका परिवारजन तथा आफन्तले आकस्मिक कक्षका चिकित्सकमाथि दुर्व्यवहार गर्दै अर्का अहेवलाई कुटपिटसमेत गरेका छन् । कुटपिटबाट अहेव महानारायण परसेलाको घाँटीमा चोट लागेको छ । आक्रोशित स्थानीयले अस्पतालको कम्प्युटर, इसिजी मेसिनसहितका उपकरण तथा शवगृहसमेत तोडफोड गरेका थिए ।
यसरी भयो घटना
वीरेन्द्र बजारका अशोक साहका दुई वर्षीय छोरा आरभलाई शुक्रबार दिउँसो खुट्टामा चोट लागेर रगत निस्किएपछि बाबुले डिटेल लगाएर खेल्न छाडिदिएका थिए । त्यसको केही घन्टामा छोरा एक्कासि बेहोस भएपछि साँझ उपचार गर्न गाउँकै एक मेडिकलमा लगे । तर, त्यहाँ उपचार सम्भव नभएपछि रुपनी गाउँपालिकास्थित युनिक अस्पताल पु-याएको जानकारी आफूले पाएको गाउँपालिका अध्यक्ष हरेराम यादवले बताए ।
तर, युनिक अस्पतालले बच्चाको मृत्यु भइसकेको जानकारी दिए पनि परिवारले उपचार गराउन राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याए । चिकित्सकहरूले इसिजी र सिपिआरसहितका प्रयास गरे पनि बच्चाको अस्पताल आउनुअघि बाटामै मृत्यु भइसकेपछि प्रहरीलाई खबर गरेर शवगृहमा राखिदिएको अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिए ।
शनिबार बिहान मृतक बच्चाका परिवारले चाँडै पोस्टमार्टम गरी शव दिन माग गरेको र सोहीअनुसार प्रहरीमा निवेदनसमेत दिएको थियो । तर, शनिबार बिहान बच्चाको घरमा एउटा दुलो देखिएपछि खन्दा गोमन सर्प फेला परेपछि स्थानीयले डिब्बामा बन्द गरेर सर्पसहित अस्पताल आए । त्यतिवेला शवगृहमा रहेको बच्चाको आँखा खुल्ला रहेको र आँसु बग्दै गरेको आफन्तले देखेपछि बच्चा जिउँदै रहेको भन्दै अस्पतालसँग बच्चा माग्न थाले ।