असोज ८, काठमाण्डौ । नेपाली कांग्रेसमा कोइराला परिवारको विरासत लामो छ । १३ औ महाधिवेशनमा कोइराला परिवारको विरासत तोडदै शेरबहादुर देउवा सभापति भएका थिए । देउवा सभापति भएसँगै शशांक कोइराला महामन्त्रीमा निवार्चित भएका थिए ।
उनै शशांकले अहिले कग्रेसको १४ औ महाधिवेशनमा कोइराला परिवारको विरासत फर्काउन सभापतिमा उम्मेदवारी दिने उदघोष् गरेका छन ।
नेपाली कांग्रेसको स्थापना कालदेखि नै कोइराला परिवारले नेतृत्वदायी भुमिका खेलेका थिए । २००४ सालमा स्थापना भएको नेपाली काँग्रेसको कार्यकारी पद सभापतिमा अहिलेसम्म ८ जना शिर्ष नेताले नेतृत्व गरेका छन् । त्यसमध्ये ५ जना त कोइराला परिवारका सदस्य नै छन् । कोइराला परिवारले पार्टीको नेतृत्व परिवारवाट बाहिर जान नदिन अनेक योजना र षडयन्त्र गर्दै आएको छ । १३ औ महाधिवेशनमा कोइराला परिवारका नेताहरु डा. शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइरालाले आफ्नो चाहाना अनुसार रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवार बनाएका थिए ।
शशांक महामन्त्री, शेखर र सुजाता केन्द्रिय सदस्यमा उठेका थिए । पौडेलले हारे, तर तीनै जना कोइरालाले जिते । काग्रेसका पुर्व सभापति गिरीजाप्रसाद कोइरालाले कोइरालाको लिगेसीलाई कायम गर्न शुशील कोइरालालाई अगाडि बढाएर नेतृत्वमै पुग्ने ढोका खोलिदिएका थिए । गिरीजाले छोरी सुजाता, भतिजाहरु शशांक र शेखरलाई नेतृत्वमा ल्याउन उनीहरुले गर्दै आएको पेशा नै छोड्न लगाएर पूर्ण रुपमा राजनीतिमा प्रवेश गराएका थिए । शशांक, सुजाता र शेखरविच पनि नेतृत्वका लागि आपसी प्रतिस्पर्धा र द्धन्द्ध छ । तर पछिल्लो समय उनीहरुले पार्टीभित्र आफूहरुमा एकमत भएको सन्देश दिन थालेका छन् ।
महाधिवेशन आउन झन्डै दुई वर्ष वाँकी रहदा महामन्त्री डा. शशांक कोइरालाले कोइराला परिवारवाट सभापतिमा उम्मेदवार दिने खुलासा गरेपछि कांग्रेसभित्र तरङ्ग पैदा भएको छ । पार्टीभित्र कोइराला परिवारको पकड बलियो बनाउने अभियानमा लागेका तिनै जना कोइराला देश दौडाहामा छन् । यसैक्रममा डा. शशांकले कोइराला परिवारबाटै सभापतिको उम्मेदवार बन्ने उद्घोष गरेका हुन् ।
अहिले काँग्रेस चरम गुटबन्दीमा फसेको छ । काँगेसको केन्द्रदेखि तल्लो स्तरसम्म गुटवन्दीको प्रभाव कायम छ । काँग्रेसमा सभापति देउवा गुट, बरिष्ठ नेता रामचन्द्र पौडेल गुट, पुर्व महामन्त्रीद्धय कृष्णप्रसाद सिटौला र कुलवहादुर गुरुङ गुट सक्रिय छन । पौडेल गुटमा प्रभावशाली भूमिका निभाएका नेता अजुर्ननसिह केसीले पनि अहिले आफ्नै गुट बनाइसकेका छन् । १४ औ महाधिवेशनमा आफै सभापतिमा लडने इच्छासमेत केसीले देखाएका छन ।
तीनै तहको चुनावमा अनपेक्षित पराजय बेहोरेको कांग्रेसमा अहिलेको नेतृत्वले आलोचना खेपिरहेको छ । देउवा र पौडेल तहका नेताहरुले विश्राम लिनुपर्ने आवाज उठिरहेको छ । नेतृत्वमा नयाँ व्यक्ति आउनुपर्ने आवाज उठिरहेका बेला सभापति को बन्ला भन्ने चर्चा र चासो पनि बढ्दै गएको छ ।