असोज ९, काठमाण्डौ । चाडपर्वका बेला जनतालाई आर्थिक भार थप्ने गरी भाडादर वृद्धि गरिएपछि सत्तारुढ दलकै भातृ संगठनहरु सडकमा ओलिएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेस निकट नेपाल विद्यार्थी संघले भाडा वृद्धिको विरोध गरेकै भोलीपल्ट आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध अनेरास्ववियूले दबाबमूलक कार्यक्रम सुरु गरेको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध अनेरास्ववियूले पनि यातायातमा १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै तत्काल फिर्ता लिन सरकारलाई दवाव दिन सुरु गरेको छ । अनेरास्ववियूले मंगलबार काठमाडौंको चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पस अगाडि प्रर्दशन गर्दै यातायातमा १० प्रतिशत वृद्धि गरिएको भाडा तत्काल फिर्ता लिन सरकारलाई दवाव दिएको हो ।
दसैं जस्ता चाडपर्वको मुखमा जनताको अपेक्षा विपरित सरकारले जनघात हुनेगरी यातायातमा भाडा बढाउने निर्णय गरेपछि त्यसलाई तत्काल फिर्ता गराउन दवाव आन्दोलन सुरु गर्नु परेको अनेरास्ववियूका सचिव सुदेश पराजुलीले बताएका छन् ।
अनेरास्ववियू पशुपति बहुमुखी क्याम्पस कमिटीले आह्वान गरेको विरोध प्रर्दशनमा दुई तिहाई बहुमतको लोकप्रिय सरकारले जनताको अपेक्षा विपरितका काम गर्न नहुने भन्दै असन्तुष्टि व्यक्त गरिएको थियो । उनीहरुले सरकारलाई जन अपेक्षा विपरित कुनै पनि गतिविधि नगर्न पनि सचेत गराएका थिए ।
प्रर्दशनका क्रममा अनेरास्ववियूका नेता, कार्यकर्ताहरुले यातायातमा बढाइको १० प्रतिशत भाडादर फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि सरकारलाई दिएका छन । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बृद्धि भएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ त सडकमै ओलिएको छ ।
संघले सोमबार एक घण्टा काठमाडौंको प्रर्दशनी मार्गमा चक्काजाम गरेको थियो । चाडपर्वका बेला सर्वसाधारणलाई झनै मारमा पार्नेगरी सरकारले यातायातमा समेत भाडा वृद्धि गरेकाले त्यसको विरोधमा एक घण्टा चक्काजाम गर्नु परेको संघका केन्द्रिय उपाध्यक्ष सागर परियारले जानकारी दिए ।
व्यवसायीहरुले दवाव दिएपछि सरकारले आईतबार यातायातको १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । सोही निर्णयप्रति आपत्ति जनाउँदै प्रतिपक्ष र सत्तापक्ष दलका विद्यार्थी विरोधमा उत्रिएका हुन् ।