Logo

निजी काममा रातो पासपोर्ट



काठमाडौं १० भदौ । सांसदहरूले निजी विदेश भ्रमणमा पनि कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रयोग गर्न पाउने कानुनी आधार तयार गरेका छन् । विगतमा रातो पासपोर्ट दुरुपयोग भएको भन्दै सरकारले निजी भ्रमणमा रातो पासपोर्टमा कडाइ गर्न खोजेको थियो । तर सांसदले भने खुकुलो व्यवस्था गरेका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले राहदानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा संशोधन गरी सांसदलाई रातो पासपोर्ट प्रयोगमा खुकुलो व्यवस्था गरेको हो । समितिको प्रतिवेदनसहितको संशोधन विधेयक मंगलबार प्रतिनिधिसभामा पेस भएको छ ।

विधेयकको दफा १६ मा नेपाल सरकारको निर्णयबमोजिम कूटनीतिक वा विशेष राहदानी प्राप्त अधिकारीले सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्दा मात्र कूटनीतिक राहदानी प्रयोग गर्न पाउने भन्ने व्यवस्थामा संशोधन गरी ‘कूटनीतिक तथा विशेष राहदानी प्रयोगसम्बन्धी व्यवस्था तोकिएबमोजिम हुनेछ’ भन्ने प्रावधान विधेयकमा राखिएको छ । यो प्रावधानले भविष्यमा कार्यविधि बनाई सांसदलाई राहदानी प्रयोगमा खुकुलो व्यवस्था गर्न सहयोग पुग्नेछ ।

यस्तै विधेयकको दफा ६ मा संशोधन गरी सरकारी कामको सिलसिलामा मात्र कूटनीतिक राहदानी प्रयोग गर्न पाइने भनिएकोमा ‘सरकारी कामको सिलसिलामा वा विशेष कामका लागि’ भन्ने शब्दावली थपेर सांसदको भ्रमणलाई ‘विशेष काम’ भनेर परिभाषित गर्न सकिने प्रावधान राखिएको छ ।

कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू र दिव्यमणि राजभण्डारीले निजी काममा पनि रातो पासपोर्ट प्रयोग गर्न पाउने व्यवस्था गर्नुपर्ने भन्दै विधेयकमा संशोधन दर्ता गरेका थिए । नेमकिपाका प्रेम सुवालले भने जुनसुकै तहका व्यक्ति पनि निजी भ्रमणमा विदेश जाँदा साधारण पासपोर्ट प्रयोग गर्ने व्यवस्था गर्नुपर्ने भन्दै संशोधन हालेका थिए । समितिको प्रतिवेदनसहितको संशोधन विधेयक बुधबारको प्रतिनिधिसभा बैठकबाट पारित गर्ने तयारी भइरहेको संसद सचिवालयको भनाइ छ । अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्