Logo

ललितपुर महानगरले फुटबल क्लबलाई आर्थिक सहयोग गर्ने



काठमाडौँ, २९ असोज ।ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लबलाई आर्थिक सहयोग गर्ने भएको छ ।महानगरको बोर्ड बैठकले जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लब फ्रेन्ड्स, ब्रिगेड ब्वाइज, जावलाखेल र च्यासल युथ क्लबलाई वार्षिक रु चार लाखका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको महानगरका सूचना अधिकारी रुद्र गौतमले जानकारी गराए। त्यसैगरी जिल्लाका ‘बी’ डिभिजनका क्लबलाई वार्षिक रु तीन लाख र ‘सी’ डिभिजन क्लबलाई वार्षिक रु दुई लाख उपलब्ध गराउने निर्णय महानगरले गरेको उनले जानकारी गराए ।

नगर परिषद्को बैठकले फुटबल विकासमा लागेका शीर्ष डिभिजनका क्लबलाई आर्थिक सहयोग गर्न प्रस्ताव गरेको थियो । सोही प्रस्तावलाई महानगरको बोर्ड बैठकले पारित गरेको हो । त्यसैगरी जिल्लाका ‘ए’ डिभिजन क्लबहरुले राष्ट्रियस्तरको कुनै पनि प्रतियोगिता जिते उपाधिपिच्छे थप रु चार लाख महानगरले उपलब्ध गराउनेछ ।

बोर्ड बैठकले थ्रीस्टार क्लबलाई रु २८ लाख आर्थिक सहयोगसमेत उपलब्ध गराउने निर्णय गरेको छ । गत वर्ष सात वटा प्रतियोगिताको उपाधि जितेर जिल्लाको गरिमा बढाउने काम गरेको भन्दै महानगरले प्रत्येक उपाधि बापतको रु चार लाखका दरले रु २८ लाख क्लबलाई दिने निर्णय गरेको हो । यसअघि काठमाडौँ महानगरले जिल्लाका छ वटा ए डिभिजन क्लबलाई वार्षिक रु १० लाख दिने यसअघि नै घोषणा गरिसकेको छ ।

फुटबलको विकासका लागि स्थानीय तहहरुले अग्रसता देखाउनु सकारात्मक भएको बताउँदै एन्फा महासचिव इन्द्रमान तुलाधरले भने, “खेलकूदको विकासका लागि राजनीतिक अग्रसरता हुनु सरहानीय छ ।”

सहयोग बढाउँदै लैजान्छौँ– महानगर प्रमुख महर्जन

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले फुटबलको विकासका लागि महानगरले सहयोग उपलब्ध गराएको बताएका छन ।“खेल क्षेत्रको विकास र खेलाडीको प्रोत्सहानका लागि नगरसभाबाट पारित गरी हामीले सहयोग उपलब्ध गराएका हौँ, सहयोगले फुटबलको विकासमा लागि मद्दत पुग्छ ।” उनले बताए

अहिले ए डिभिजन लिगसमेत शुरु भएको बताउँदै उनले महानगरको सहयोगले ती क्लबलाई लिगमा सहभागिता जनाउन थप सहज भएको प्रतिक्रिया दिएका छन । लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन हुँदा राजनीति र खेल क्षेत्र टाढा भएको बताउँदै अबका दिनमा सहयोग निरन्तर जारी रहने महानगर प्रमुख महर्जनले जनाए । रासस



प्रतिक्रिया दिनुहोस्