कावासोती, २९ असोज । दुर्लभ एकसिँगे गैँडा संरक्षणको सन्देश प्रवाहका लागि नवलपरासीको मध्यविन्दुमा राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता आगामी कात्तिक तेस्रो हप्ता हुने भएको छ ।
प्रत्येक वर्ष सञ्चालन हँुदै आएको प्रतियोगिता यस वर्ष कात्तिक ११ गतेदेखि शुरु हुने आज पत्रकार सम्मेलनमा आयोजक नन्द भाउजू मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिनुभयो । पन्ध्र वर्षदेखि सञ्चालन हुँदै आएको प्रतियोगितामा विभागीय तथा ‘ए’ डिभिजनका टोलीको समेत सहभागिता रहने छ । विजेताले रु चार लाख उनान्सय हजार ५५५ तथा उपविजेताले रु दुई लाख पचपन्न हजार ५५५ पुरस्कार प्राप्त गर्ने अध्यक्ष भण्डारीले बताउनुभयो ।
खेलको माध्यमबाट युवालाई वन र वन्यजन्तु संरक्षणमा लाग्ने उत्पे्ररणा जगाउन समेत प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्नका लागि नेपाल सरकारसहित विभिन्न गैह्रसरकारी संस्थाको समेत सहयोग रहने बताइएको छ । रासस