काठमाडौं । विश्व विजेता फ्रान्सले युएफा नेसन्स कप फुटबलमा जर्मनीलाई पराजित गरेको छ । गएराति भएको खेलमा फ्रान्सले जर्मनीलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन एन्टोनी ग्रिजम्यानले दुवै गोल गरे । जर्मनीका टोनी क्रुसले एक गोल गरे । पहिलो हाफमा १–० ले अग्रता लिएको जर्मनी अग्रता जोगाउन नसक्दा पराजित भएको हो ।
खेलको १४ औं मिनेटमा क्रुसले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ६२ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई खेलमा फर्काए । त्यसपछि खेलको ८० औं मिनेटमा ग्रिजम्यानले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई २–१ को जित दिलाए । जितसँगै फ्रान्सले लिग ‘ए’ समूह एकबाट प्ले अफमा स्थान पक्का गरेको छ ।
यता, जर्मनी भने रेलिगेसनमा परेको छ । रुस विश्वकपको समूह चरणबाट बाहिरिएको जर्मनीको यो लगातार खराब प्रदर्शन हो । फ्रान्सले ३ खेलबाट २ जितसहित ७ अंक जोडेको छ । जर्मनीले ३ खेलबाट १ अंक जोडेको छ । यस समूहमा ३ खेलबाट ३ अंक जोडेको नेदरल्याण्ड दोस्रो स्थानमा छ ।