Logo

ओली आजबाट सिंहदबार फर्किए, सुरु गरे कार्यसम्पादन



काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली आजबाट सिंहदरबार काममा फर्किएका छन् । अस्वस्थ भएपछि लामो समयदेखि बालुवाटारबाटै कार्यसम्पादन गर्दै आएका थिए ।

पुष्पकमल दाहाल प्रचण्डका स्वर्गीय छोरा प्रकाश दाहालको प्रथम स्मृति सभामा हिजो ओली सहभागी भएका थिए । त्यसको भोलिपल्ट आज ओली सिंहदरबार पुगेका हुन् ।

बिरामी भएर अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली निको भएपछि सोमबार पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए । उनी प्रचण्ड पुत्र प्रकाश दाहालको प्रथम स्मृति तथा श्रद्धाञ्जली सभामा सोमबार सहभागी भएका हुन् ।

ओलीले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि आवश्यक नीति बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले जनताले अपेक्षा गरेअनुसार विकास निर्माणको कामले गति लिन नसकेको उल्लेख गर्दै संविधानको परिधिभित्र रहेर आवश्यक नीति निर्माण गर्न नीति अनुसन्धान प्रतिष्ठानलाई निर्देशन दिएका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मंगलबार बसेको प्रतिष्ठानको परिचयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अन्तरद्वन्द्वमा फसेका नीतिहरुलाई पुनरावलोकन गरेर संविधानले परिकल्पना गरेको समाजवादउन्मुख अर्थतन्त्र निर्माणको लागि आवश्यक नीति बनाउन ढिलाई गर्न नहुनेमा पनि जोड दिए ।



प्रतिक्रिया दिनुहोस्