Logo

सांगठनिक एकीकरणबारे निर्णय लिन नेकपाले स्थायी समिति



काठमाडौं ७ मंसिर ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको सांगठनिक एकीकरणको कामबारे आवश्यक निर्णय लिन स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ ।

बिहीबार बसेको पार्टी सचिवालय बैठकले सांगठनिक एकीकरण र पार्टी केन्द्रीय सदस्यहरुको काम बाँडफाँडका लागि आवश्यक निर्णय लिन स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कार्य दलले तयार पारेको संगठन एकीकरण र पार्टी केन्द्रिय सदस्यको जिम्मेवारी बाँडफाँडसम्बन्धि प्रस्ताव पेश गरिएको थियो । सो प्रस्तावलाई अन्तिम रुप दिन भोली शुक्रबार पुनः सचिवालयको बैठक बोलाउने निर्णय पनि गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा रहेको दुई सदस्यीय कार्यदलले सांगठनिक एकीकरण र पार्टी केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँडका लागि प्रस्ताव तयार पारेको थियो । सोही प्रस्ताव सचिवालय बैठकमा पेश गरिएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउन असन्तुष्ट केन्द्रीय सदस्यहरुले गरेको मागका विषयमा पनि छलफल गरिएको थियो । १८ केन्द्रीय सदस्यहरुले बैठक बोलाउन माग गरेको विषयलाई पनि शुक्रबारको सचिवालय बैठकमा ऐजन्डा बनाएर छलफल गर्ने निर्णय गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्