Logo

प्रधानन्यायाधीश सिफारिस गर्न अाज बैठक



काठमाडौं १७ मंसिर । प्रधानमन्त्री केपी ओलीले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न सोमबार संवैधानिक परिषद् बैठक बोलाएका छन् । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदले आगामी पुस १७ मा अनिवार्य अवकाश पाउँदैछन् । त्यसअघि नै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न सोमबार परिषद् बैठक बोलाइएको हो ।

बैठकले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नेछ। न्याय परिषद्ले एक साताअघि नै प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रशमशेर राणाको नाम संवैधानिक परिषद्लाई बुझाएको छ। प्रधानन्यायाधीश हुन सर्वोच्चमा तीन वर्ष न्यायाधीश भइसकेको व्यक्ति हुनुपर्ने संवैधानिक व्यवस्था छ। जोशी र राणाबाहेक अरू न्यायाधीशको उक्त योग्यता पुगेको छैन।

परिषद्ले संविधानबमोजिम पद रिक्त हुनु एक महिनाअघि नै प्रधानन्यायाधीश सिफारिस गर्न लागेको हो। संविधानको धारा २८४ को उपधारा ३ मा ‘संवैधानिक परिषद्ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै यस संविधानबमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्नेछ’ भन्ने उल्लेख छ।

परिषद्मा नाम बुझाइएका दुई वरिष्ठतम न्यायाधीशमध्ये जोशी यसअघि संसदको सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत व्यक्ति हुन्। न्याय परिषद्ले सिफारिस गर्दा वरिष्ठतम न्यायाधीश जोशीको नाम पहिलो नम्बरमा राखे पनि कैफियतमा ‘यसअघि सुनुवाइ समितिबाट अस्वीकृत’ भन्ने व्यहोरा उल्लेख गरेको छ। त्यही कारण परिषद्ले राणालाई सिफारिस गरी सुुनुवाइ समितिमा पठाउनुको अर्को विकल्प नरहेको स्रोतले उल्लेख गरेको छ। सुनुवाइ समितिबाट अनुमोदन भएपछि राणालाई राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछिन्।

प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष तथा सदस्यहरूमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभामा प्रतिपक्षी दलका नेता, प्रतिनिधिसभाका उपसभामुख तथा कानुनमन्त्री सदस्य रहने प्रावधान छ।



प्रतिक्रिया दिनुहोस्