काठमाडौं,१७ मंसिर । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका उपाध्यक्ष श्याम जाजुले आफू पार्टीको प्रतिनिधि बनेर एशिया प्यासिफिक समिटमा भाग लिन नआएको स्पष्ट पारेका छन् । आज स्वदेश फर्किनुअघि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो स्पष्ट पारेका छन् ।
पत्रकार धमलासँगको कुराकानीमा उनले भनेका छन्,‘म विजेपीको उपाध्यक्ष हुँ, तर म पार्टीको आधिकारिक प्रतिनिधिको रुपमा आएको होईन । मलाई विजेपीले पठाएको होईन् । हाम्रो भाजपाको आधिकारिक रुपमा यो समिटमा कसैको सहभागीता छैन् । नेपाल मामिलाबारे आधिकारिक रुपमा हाम्रो प्रतिनिधित्व भगतसिंह कोशियारीजीले गर्नुहुन्छ ।’
जाजु अस्ति काठमाडौं आएका थिए । उनी हिजो पोखरा घुम्न गएका थिए । उनी आजै बेलुका भारत प्रस्थान गर्दैछन् । एशिया प्यासिफिक समिटमा भारतबाट साउथ दिल्ली नगरपालिकाका मेयर नरेन्द्र कुमार चावला र नेता विजय जोलीको सहभागिता रहेको थियो ।