काठमाडौँ,१७ मंसिर । अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्न मिल्ने गरी चितवनको पर्यटकीय गन्तव्य पटिहानीमा ठूला होटल बन्ने क्रमले तीव्रता पाएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै रहेको पटिहानी सरकारले घोषणा गरेका एक सय गन्तव्यमध्येको एक हो ।
पटिहानीमा ‘रिभरसाइट रोयल गार्डेन रिसोट’ आरआरजीआरमा सार्क सम्मेलन गर्न मिल्ने गरी सुविधासम्पन्न सात भिल्ला सहितको होटल निर्माणाधीन छ । होटलका अध्यक्ष कल्याण जोशीका अनुसार चार भिल्लाको निर्माण अन्तिम चरणमा पुगेको छ भने तीन भिल्ला थप गरिँदै छ । उनले भने, “सार्क शिखर सम्मेलन जस्ता ठूला कार्यक्रमलाई लक्षित गरी होटलमा सुविधा दिइँदै छ ।”
वैशाखदेखि सञ्चालन गर्ने गरी निर्माणको क्रममा रहेको आरआरजीआर रिसोर्टमा रु एक अर्ब लगानी हुँदैछ । चितवनका १२ सहित १८ जनाको लगानीमा बन्न लागेको रिसोर्ट पाँच बिघा क्षेत्रमा फैलिएको छ । होटलका प्रबन्ध निर्देशक ऋषि न्यौपानेका अनुसार होटलमा आर्कषकरूपमा सजाइएका ‘स्पेशल रुम’ विशेष कक्ष बन्नेछन् । गत फागुनबाट निर्माण शुरु भएको होटलको २४० जनालाई बास दिने लक्ष्य छ । वैशाखसम्म सात भिल्ला र ४२ कोठा तयार हुनेछन् ।
हरेक भिल्लामा पौडी पोखरी हुने उनले जानकारी गराए । छ सय जना अट्ने सभाहल र एक हजार एकसाथ बसेर खान मिल्ने रेष्टुरेन्ट तयार गरिँदै छ । उक्त क्षेत्रमा चितवन जङ्गल लज र रिभर बैंक जङ्गल रिसोर्ट निर्माणाधीन छन् । यस्तै चारवटा पर्यटकीयस्तरका होटल निर्माण हुँदैछन् । राप्ती किनारमा बिघौँ जग्गा खरीद गरेर रिसोर्ट बनाउने होडबाजी नै चलेको छ ।
भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णुराज महतो तीनतारे चार र पर्यटकीय एकदर्जन होटल तथा रिसोर्ट सञ्चालनमा आइसकेको बताउन्छन । उनले राप्ती किनारमा जग्गा खरीद गरेर बसेका होटलको नक्साङ्कनमा लागिसकेको जनाए । हालसम्म सो क्षेत्रमा पर्यटकीय होटलमा रु पाँच अर्बभन्दा बढी लगानी भइसकेको उनी जानकारी गराउन्छन ।
पटिहानी क्षेत्रमा पहिलोपटक विसं २०४९ मा ९८ जना क्षमताको नारायणी सफारी होटल सञ्चालनमा आएको थियो । यसले झण्डै १२ बिघा क्षेत्रफल ओगटेको छ । पटिहानीमा निर्माणको क्रममा रहेको ६० जना क्षमताको चितवन जङ्गल लज तीन बिघा १० कठ्ठा क्षेत्रफलमा छ । चार बिघा १० कठ्ठा क्षेत्रफलमा बनाउन लागिएको रिभर बैंक जङ्गल रिसोर्ट ९० जना क्षमताको हुनेछ । ती दुवै होटलको निर्माणको काम तीव्र गतिमा अघि बढेको महत्तोले बताए ।
यसका साथै यहाँ तीन बिघा १० कठ्ठामा ६८ जना क्षमताको कसरा रिसोर्ट, चार बिघा १० कठ्ठामा ५५ जना क्षमताको जङ्गल भिल्ला, एक बिघामा ३० जना क्षमताको ‘इन्टु द वाइल्ड इको’ रिसोर्ट, पाँच बिघामा ५८ जना क्षमताको जगतपुर लज, चार बिघा १० कठ्ठा क्षेत्रफलमा ६० जना क्षमताको टाइगर ल्याण्ड सफारी सञ्चालित छन् । यसका अतिरिक्त १० भन्दा बढी साना होटल सो क्षेत्रमा रहेका छन् ।
महतोले राप्ती नदी किनारमा रहेका जग्गाधनीलाई भेट गरी होटल र रिसोर्ट निर्माण गरिदिन आग्रह गरेको बताउन्छन । सोही आग्रहलाई स्वीकार गर्दै चारजना प्रतिष्ठित व्यक्तिले होटल निर्माणको तयारी गरिरहेको उनले बताए।
सरकारले भ्रमण वर्ष २०२० लाई लक्षित गरी एक सय पर्यटकीय गन्तव्यको सूचीमा पटिहानी क्षेत्रलाई राखेपछि यहाँ पर्यटन गतिविधि बढेको हो । पटिहानी क्षेत्रमा रु पाँच करोड लागतमा थारु सङ्ग्रहालय, रु दुई करोड ५० लाख लागतमा ‘सन सेट भ्यू प्वाइन्ट विथ अम्ब्रेला स्ट्रिट’ निर्माण हुँदैछ । यस्तै मौलिकता जगेर्ना गर्न ‘थारु कल्चरल भिलेज थारु सांस्कृतिक गाउँ०’ बनाउने योजना बनेको छ ।
क्षेत्रीय होटल सङ्घ पश्चिम क्षेत्र कसरा इकाइका संयोजक गणेश पौडेल यस क्षेत्रको पर्यटकीय सम्भाव्यता प्रचुर रहेकै कारण ठूला पर्यटकीय होटल खुल्ने क्रम बढेको बताउँन्छन। उनले पटिहानीको वनकट्टा, पटलहरा, घटगाई, धनौजी, पकडी, बरौजी, कुमिया, पुल्लर लगायतका बस्ती थारु भाषाबाटै नामाकरण भएको जानकारी गराए।
ती समुदायले तयार पार्ने परम्परागत खाना, हस्तकलाका सामाग्रीसँगै सांस्कृतिक कार्यक्रमले पर्यटकलाई लोभ्याउने गर्दछ । पर्यटकलाई डुलाउन वनकट्टामा निजी नौ वटा गोरुगाडा, होटल तथा रिसोर्टका १३ वटा निजी जिप प्रयोग हुँदै आएका छन् । पाँच होटलले १२ वटा निजी हात्तीमार्फत पर्यटकलाई घुमाउने गर्छन् । बेलशहर र वीरेन्द्रनगर मध्यवर्ती सामुदायिक वनका जैविक मार्गमा पर्यटक रमाउने गर्छन् । पटिहानी आउने पर्यटकले कमल पोखरी, छितामाई, विक्रमबाबा, निकुञ्जकोे गिद्ध, गोही र हात्ती प्रजनन केन्द्र सहजैै घुम्न पाउँछन् ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले यस क्षेत्रमा लगानीको वातावरण तयार पार्न लागिपरेको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरे । उनले महानगरका तर्फबाट गर्नसक्ने सबै सहयोग गर्न तयार रहेको बताए । सरकारले एक सय पर्यटकीय गन्तव्यमध्ये महानगरको पटिहानी क्षेत्र पार्नु आफैमा महत्वपूर्ण भएको भन्दै नमूना पर्यटकीय क्षेत्रको रुपमा पटिहानीलाई विकास गर्नुपर्ने उनले जानकारी गराए ।रासस