Logo

छोसेर–कोरला सडक स्तरोन्नति सम्पन्न



काठमाडौँ,१९ मंसिर । मुस्ताङको सदरमुकाम जोमसोमदेखि चीनको सिमाना कोरला नाका जोड्ने सडकअन्तर्गत छोसेर–कोरला खण्डको सडक स्तरोन्नति भएको छ ।कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाले लोमान्थाङ गाउँपालिका–१ छोसेरदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा पर्ने कोरला नाकाको २४ नम्बर पिलरसम्मको १६ किलोमिटर सडक स्तरोन्नति गरेको हो ।

जोमसोम–कोरला खण्डमा सात वटा प्याकेजमा भइरहेको सडक स्तरोन्नति आयोजना मध्ये कोरला नाकातर्फको अन्तिम प्याकेजको काम सकिएको आयोजनाका इञ्जिनीयर जगत प्रजापतिले जानकारी गराए।

ट्र्याक मात्र खोलिएको अवस्थामा रहेको सडकलाई ११ मिटर फराकिलो, नाली, ग्यावियन पर्खाल, मेशिनरी पर्खाल निर्माण र ग्राभेल गरिएको छ । विसं २०७३ देखि सडक स्तरोन्नतिको काम शुरु भएको थियो ।

रु ४८ करोड लागत अनुमान गरिएको छोसेर–कोरला सडक स्तरोन्नतिका लागि दिवा–रौताह–एपेक्स जेभीले रु २९ करोडमा ठेक्का लिएको थियो । समुद्री सतहदेखि चार हजार ६०० मिटरको उचाइको भूगोलमा प्रतिकूल मौसम भएपनि पर्याप्त मजदुर र उपकरण परिचालन गरेर सम्झौता अवधिभित्रै काम सकेको निर्माण कम्पनीका प्रतिनिधि सकबहादुर लालचन बताउन्छन ।

यसअघि कागबेनी–मुक्तिनाथ सडक कालोपत्रेको काम पनि निर्धारित समयमै सकेको बताउँदै लालचनले जोमसोम विमानस्थल विस्तार तथा स्तरोन्नतिको काम पनि लक्षित समयमै सम्पन्न गर्ने बताए ।

११० किलोमिटर दूरीको जोमसोम–कोरला सडकअन्तर्गत अन्य छवटा प्याकेजको भौतिक प्रगति ७० प्रतिशतभन्दा बढी रहेको आयोजनाले जनाएको छ । सडक स्तरोन्नतिसँगै कोरला नाका खुलाउनका लागि सुरक्षा तयारी र चीन सरकारसँग कूटनीतिक पहल भइरहको प्रतिनिधिसभा सदस्य पे्रमप्रसाद तुलाचनले जानकारी गराए । रासस



प्रतिक्रिया दिनुहोस्