हरिश चन्दः डडेल्धुरा १९ मंसिर । सुदुरपश्चिम प्रदेशको पहाडी जिल्लाको केन्द्र विन्दुका रुपमा रहेको डडेल्धुरा जिल्ला सदरमुकाम बागबजारमा पहिलो पटक जिल्ला प्रहरी कार्यालय डडेल्धुराले सिसि क्यामरा जडान गरको छ । जिल्ला सदरमुकाम बागबजार सहितका अन्य बजार क्षेत्रमा सुरक्षा चुस्त दुरुस्त बनाउनका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बजारमा सिसि क्यामरा जडान गर्न थालेको हो ।
पहिलो चरणमा बागबजारको भिमदत्त चोक र जिल्ला प्रहरी कार्यालयको चोकमा गरी ६ वटा सिसि क्यामरा जडान गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । बागबजारमा यातायातको चाप बढ्नुकासाथै आपराधिक गतिविधिलाई निगरानी राख्नका लागि सिसि क्यामरा जडान कार्य शुरु गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक डम्बर बहादुर केसीले बताए ।
सिसि क्यामरा जडानसंगै बजार क्षेत्रमा हुने आपराधिक गतिविधिकासाथै यातायातको गतिविधिलाई पनि नियन्त्रण गर्नमा सहयोग पुग्ने अपेक्ष लिइएको छ । सुदुरपश्चिम प्रदेशका पहाडी सातवटै जिल्लाको प्रवेश द्धारको रुपमा वागवजार क्षेत्र रहेकाले पनि सुरक्षा चुनौती रहेको समेत प्रहरीले बताएको छ ।