काठमाडौं, २० मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्रको विवाद अब सहमतितर्फ उन्मुख भएको छ । अध्यक्ष मण्डलको संयोजकबाट हटाएर राजेन्द्र महतोलाई उक्त जिम्मेवारीमा ल्याएसँगै ठाकुर रुष्ट बनेका थिए । पार्टीका अध्यक्ष मण्डलका अर्का सदस्य महेन्द्र राय यादवले ठाकुरबारे विवादस्पद अभिव्यक्ति दिएपछि पार्टीभित्र तनाब उत्पन्न भएको थियो ।
तर, अहिले यादव र महन्थ ठाकुरबीच सबै कुरा मिलिसकेको छ । पार्टीभित्रको विवादपनि साम्य हुँदै गएको छ । ठाकुर अहिले भारतमा छन् । उनी एक हप्ताभित्र काठमाडौं फर्किने कार्यक्रम छ ।
ठाकुर काठमाडौं फर्किएसँगै पार्टीको बैठक बस्दैछ । उक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको एक नेताले जानकारी दिए । अब बस्ने बैठकमा पार्टी सदृढीकरण गरेर लैजानेबारे छलफल हुनेपनि पूर्व सहमति भैसकेको छ ।