Logo

बाबुराम देश दौडाहामा, स्थानीय जनप्रतिनिधिलाई यस्तो सुझाव



खोटाङ, २० मङ्सिर : नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सिंहदरबारको भ्रष्टाचाररुपी रोग गाउँमा नल्याउन स्थानीय तहका जनप्रतिनिधिलाई सुझाव दिनुभएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको विशेष नगरसभालाई आज सम्बोधन गर्नुहुँदै उहाँले सिंहदरबारको अधिकार पु¥याउनुपर्नेमा भ्रष्टाचार प्रवृत्ति गाउँमा पुगेको जनगुनासो आएको उल्लेख गर्नुभयो ।

जनप्रतिनिधिको कमजोरीका कारण सङ्घीयता विरोधीलाई सङ्घीयता मास्ने बहाना मिल्यो भने गम्भीर त्रुटि हुने डा भट्टराइको भनाइ थियो । बुधबार खोटाङ आउनुभएका डा भट्टराईले सङ्घीयतालाई स्वीकार गर्न नमान्ने पङ्क्तिका कारण निर्वाचनअघि कानून निर्माण हुन नसकेको र स्पष्ट कानून अभावमा हाल स्थानीय तह सञ्चालनमा कानूनी जटिलता आइपरेको बताउनुभयो ।

विशेष नगरसभालाई सम्बोधन पछि डा भट्टराईले किरात समुदायको उद्गम थलोकारुपमा रहेको तुवाचुङ जायजुमको अवलोकन गर्नुभयो । हलेसीको सम्भाव्यताबारे अध्ययन, तुवाचुङ जायजुमको अध्ययन–भ्रमण, नयाँ शिक्षाको अभ्यास गरिरहेको शुभद्रा–मदन फाउण्डेसन अवलोकन, कार्यकर्ता भेटघाटलगायतका कार्यक्रम लिएर डा भट्टराई पाँच दिनका लागि खोटाङ आउनुभएको हो ।

डा भट्टराईसँग नगरपालिकाले हलेसीको गुरुयोजना र मन्दिरभित्रको संरचनाका विषयमा छलफल गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले बताउनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्