Logo

महायज्ञको शुभारम्भ गर्नुहुँदै पूर्व राष्ट्रपति यादवले भन्नुभयो : बेलैमा नसोचे धर्मका नाममा द्वन्द्वको खतरा



ललितपुर, २५ मंसिर । पूर्व राष्ट्रपति डा. रामवरण यादवले धर्म संस्कृतिको विषयलाई संविधान बमोजिम संसदले बेलैमा सम्बोधन गर्नेबारे ठोस निर्णय नलिए देशमा नयाँ द्वन्द्व निम्तन सक्ने खतरा औल्याउनुभएको छ ।

आज ललितपुरको महालक्ष्मी नगरपालिका—८ बिष्णुडोलमा खानेपानी क्षमता अभिवृद्धिका लागि महायज्ञ शुभारम्भ गर्नुहुँदै धर्म र संस्कृतिको विषय संवेदनशील भएकाले बेलैमा होस् पु¥याउनुपर्नेमा जोड दिनुभयो । धर्म संस्कृतिको व्यवस्थापन जटिल भएपनि संविधान अनुरुप यसको व्यवस्थापन अनिवार्य भएको उहाँको भनाई थियो ।

धर्म संस्कृतिबारे उठेको विषय बेलैमा व्यवस्थापन नगरे त्यसले द्वन्द्व निम्त्याउन चाहनेलाई हतियार मिल्न सक्ने खतरा औल्याउँदै यादवले भन्नुभयो,‘सँसारमा धर्मको विषयले ठूला युद्धहरु भएका छन्, हामीले बेलैमा होस् पु¥याउन जरुरी छ ।’ आफूले यही स्थिति आउने खतरा देखेर संविधान जारी गर्दा दलहरुलाई मधेशको समस्याका अलावा धर्म संस्कृतिको विषयमा गम्भीर भएर सोच्न भनेको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो,‘मलाई थाहा थियो कि यस्तो समस्या आउन सक्छ, त्यसैले मैंले सबै दलहरुलाई सहमति निर्माणका लागि आग्रह गरेको थिएँ ।’

पूर्व राष्ट्रपति यादवले देशमा विकासका नाममा विनाश भइरहेको औल्याउँदै बेलैमा सोच्न आग्रह गर्नुभयो । सडकलगायत पूर्वाधार निर्माणका लागि चुरेका जङ्गल फडानी भइरहेकोले भविष्यमा पानीको संकट बढेर अर्को द्वन्द्व निम्तनसक्ने औल्याउनुभयो । चुरे क्षेत्रमा निर्माण गर्ने भनिएको मदन भण्डारी राजमार्गले विकास भन्दा विनाश गर्न सक्ने उहाँको भनाई थियो । यादवले भन्नुभयो,‘आदरणीय मदन भण्डारीको नाममा बन्न लागेको राजमार्गले चुरेको विनाश हुन सक्छ जसले तराईमा पानीको हाहाकार हुन सक्छ ।’

महायज्ञको सफलताको शुभकामना दिनुहुँदै यादवले दान गर्न चौडा छाति चाहिने बताउनुभयो । पवित्र कार्यमा सबैलाई सहयोगका लागि आग्रह समेत गर्नुभयो । पूर्व राष्ट्रपति यादवले लोकप्रीय बक्सिङ्ग खेलाडी मनोहर बस्नेत म्याक्स बी, पर्वतारोही प्रकाशराज पाण्डे र कल्पना श्रेष्ठलाई सम्मान गर्नुभएको थियो ।

पूर्व राष्ट्रपतिले दानवीरहरुलाई सम्मान समेत गर्नुभएको थियो । सम्मानित हुनेहरुमा भूमिदान गर्ने पुतली थापा, सहकुल खत्री र लक्ष्मण खड्का, २०६७ सालमा सर्वाधिक दान गर्ने सानुमाया बिष्ट, खानेपानी आयोजनाका विशेष योगदानकर्ता महेश बिष्ट, जारी महायज्ञमा सर्वाधिक राशी दान गर्ने हामी सबैको यातायात प्रा.लिं, ब्लुमवर्ग स्कुल ललितपुर, पुष्पराज केसी र लीलाकुमारी केसी, गणेश केसी र रेखा बिष्ट, इच्छाराम केसी र सानु केसीलगायत दानवीरहरुको सम्मान गर्नुभएको थियो ।

ललितपुर क्षेत्र नम्बर १ का सांसद नवराज सिलवालले धर्म संस्कृतिलाई बेवास्ता गर्दा देशमा भ्रष्टाचार र अनैतिक कार्यहरु मौलाएको बताउनुभयो । उहाँले भन्नुभयो,‘हामीले हाम्रो धर्मलाई बेवास्ता गर्दा भ्रष्टाचार मौलाएको छ ।’ धर्मबाट नैतिक र आध्यात्मिक शक्ति प्राप्त हुने भएकाले यसको विशेष महत्व रहने बताउनुभयो । धर्म र संस्कृतिको जगेर्ना र विकासमा लाग्नुपर्नेमा उहाँको जोड थियो । हाम्रो माध्यमले लिन भन्दा दिन सिकाएको भन्दै पवित्र कार्यमा सबैको सहयोग हुने आशा व्यक्त गर्नुभयो ।

ललितपुर क्षेत्र नम्बर २ का सांसद कृष्णलाल महर्जनले धर्म र संस्कृति हाम्रो समाजको आधार भएकाले त्यसको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो । धर्म र संस्कृतिका माध्मले देश र जनताको हितमा सत्कार्य गर्नुपर्नेमा उहाँको जोड थियो । महायज्ञमार्फत् खानेपानी अभिवृद्धि हुनलागेको सुन्दा आफू निकै खुशी भएको भन्दै सहयोगका लागि सधै तयार रहेको बताउनुभयो ।

महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले नगरपालिकाले विकासका काममा जनतासँग सधै हातेमालो गरेर अगाडि बढेको बताउनुभयो । नगरपालिकाले सडक निर्माण र पानीको सहज आपूर्तिका लागि धमाधम काम गरिरहेको जानकारी गराउनुभयो । श्रेष्ठले महालक्ष्मी नगरपालिकालाई देशकै नमूना नगरपालिका बनाउन आफू कटिवद्ध भएर लागेको बताउँदै महायज्ञको सफलता र खानेपानी अभिवृद्धिको उद्देश्य प्राप्तिको कामना गर्नुभयो ।

महायज्ञ आयोजक कमिटिका तर्फबाट कुबेर केसीले स्वागत मन्तव्य दिनुहुँदै आफूहरुले उद्देश्य प्राप्ति गरिछाड्ने दृढता व्यक्त गर्नुभयो । पूर्वजले गरेको विकासको गतिलाई अझ अगाडि बढाउन आफूहरु एकतावद्ध भएर लागिपरेको उहाँको भनाई थियो ।
वाणीभाष्कर भुवन आचार्यले हिन्दु धर्म नभएर सभ्यता र संस्कृति भएको बताउनुभयो । सभ्यता र संस्कृतिको जगेर्ना गर्नु हामी सबैको कर्तव्य रहेको उहाँको भनाई थियो ।

कार्यक्रमका सभापति बिष्णुडोल खानेपानी तथा सरसफाई समितिका अध्यक्ष लक्ष्मण कार्कीले कार्यक्रममा सहभागी र सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमको उद्घोषण आयोजक कमिटिका सचिव विवेक कुमार कार्कीले गर्नुभएको थियो ।

महायज्ञ शुभारम्भमा ललितपुरका प्रदेश सांसद माधव पौडेल, पूर्व अर्थराज्यमन्त्री उदय शमशेर राणा, पूर्व सभासदहरु चन्द्र महर्जन र रामकृष्ण चित्रकार, महालक्ष्मी नगरपालिकाकी उपमेयर निर्मला थापा, नेपाली सेनाका पूर्व रथी नेपालभुषण चन्द, पूर्व डिआइजी गणेश केसी, नेपाल प्रहरीका एसपी शेखर खनाल, डिएसपी गौतम मिश्र, सशस्त्र प्रहरीका डिएसपी मोहन न्यौपाने, महालक्ष्मी नगरपालिकाका वडाध्यक्षहरु विश्वराज श्रेष्ठ, वासुदेव शर्मा, वासुदेव महर्जन, रामबहादुर केसी सुवेदी र लक्ष्मण रोकायाको उपस्थिति थियो ।

कार्यक्रममा शुभतारा स्कुल लामाटारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । विश्वामित्र गणेश उच्च मावि गणेशथान, नवकुञ्ज मावि सिद्धिपुर, लभ्ली होम सिद्धिपुरका विद्यार्थीहरुले स्वागतका लागि सांस्कृतिक भेषभुषामा सहभागिता जनाएका थिए ।
महायज्ञ २६ मंसिर देखि ३ पौषसम्म हुनेछ । यज्ञमा वाणीभाष्कर भुवनगुरुले प्रवचन दिनुहुनेछ ।



प्रतिक्रिया दिनुहोस्