काठमाडौं, २५ मंसिर । स्वतन्त्र राष्ट्रिय अभियान नेपालका अभियान्ता एवम् अधिवक्ता दिनेशराज सत्यालको नेतृत्वमा स्रोत नखुलेको सम्पति सार्वजनिक गर्नको लागि नागरिक आयोग गठन गरिएको छ ।
रिपोर्टर्स क्लब नेपालमा स्वतन्त्र राष्ट्रिय अभियान नेपालले पत्रकार सम्मेलन गरेर नेता, प्रशासक, कर्मचारी, पत्रकारलगायतको स्रोत नखुलेको सम्पति सार्वजनिक गर्नको लागि अधिवक्ता सत्यालको नेतृत्वमा नागरिक आयोग गठन गरिएको जानकारी दिइएको छ ।
त्यस्तै आयोगको सदस्यमा डा. दामोदर त्रिपाठी, डा अमित देव, अधिवक्ता कृष्ण प्रसाई, वैज्ञानिक विजय अधिकारी, लेखाविज्ञ रमाकान्त झा, एक्च्युअरी सुजन नेपाली, मनोविज्ञ ललिता लिम्बू, गजेन्द्र ढकाललगायत छन् ।
स्वतन्त्र राष्ट्रिय अभियान नेपालका संयोजक स्वागत नेपालले स्रोत नखुलेको सम्पतिका साथै राज्यका महत्वपूर्ण सूचना विदेशीका एजेन्टलाई बेच्नेहरुको नाम, ठेगाना, सूचना र इमेल सार्वजनिक गर्न ‘भूमिगत साइबर गुरिल्ला’ गठन गरिएको बताए ।
उनले भने,‘हामीले विगतमा बलत्कारको सिकार भएकी नारीहरुको लागि निःशुल्क रुपमा न्यायिक मैदानमा उभिएर बहस गर्यौं, भ्रष्ट, नैतिक पतन, समाजले बहिष्कार गरिएका व्यक्तिहरुलाई चुनावमा उठ्न नदिन आवाज बुलन्द गर्यौं, आज हामी मुलुकको महत्वपूर्ण मुद्दा लिएर नेपाली जनताकोबीचमा छौं, स्रोत नखुलेको सम्पति र महत्वपूर्ण सूचनाहरु बेच्ने राष्ट्रघातीहरुको बिरुद्धमा साइबर गुरिल्ला परिचालन गरेका छौं, नेता, पत्रकार, ब्यापारी र अन्य व्यक्तिहरुका गोप्य सूचना सार्वजनिक गर्नको लागि अधिवक्ता दिनेशराज सत्यालको नेतृत्वमा नागरिक आयोग गठन गरेका छौं, यसमा सबै नागरिकको साथ रहने विस्वास लिएका छौं ।’
राज्यले हरेक नागरिकको सुरक्षा अधिकारको प्रत्याभूति गराउन सक्नुपर्ने उनको भनाई छ । उनले भने,‘हामी माथिको सुरक्षा थ्रेटलाई मध्यनजर गर्दै केही मानिसहरुले सुरक्षा माग्नुहोस् भन्नुभएको थियो, हामीले सूरुदेखिनै महसुस पनि गरेका थियौं तर राज्यबाटै हामीमाथि सुरक्षा छैन।’
उनले अघि थपे,‘हामीले राज्यमा बसेर जनताको नाममा ब्रम्हलुट मच्चाईरहेका र देशभित्रका महत्वपूर्ण सूचनाहरु विदेशीलाई बेच्ने राष्ट्रघातीहरुको बिरुद्धमा काम गर्दा राज्यले हामीलाई सुरक्षा दिँदैन्, यसमा हामी प्रष्ट छौं, दुई करोड जनताले तिरेको कर केही सिमित व्यक्ति र आसेपासको भरणपोषणमा खर्च भैरहरेको छ, यो जघन्य अपराध हो ।’
संयोजक नेपालले हिजोका दिनसम्म बिहान खाए बेलुका के खाउँ भन्ने खालको जीवनस्तर भएका नेता, प्रशासक, ब्यापारी, पत्रकारहरुको वर्तमान विलासिताको अवस्थाका बारेमा अभियानले गहन अध्ययन अनुसन्धान गरि नागरिक आयोगले कारबाहीको लागि सिफारिस गर्ने बताएका छन् ।
प्रेस विज्ञप्ति
मिति : २०७५।०८।
आदरणीय पत्रकार मित्रहरु
तथा न्यायप्रेमी नागरिकहरु
स्वतन्त्र राष्ट्रिय अभियान नेपालले हालसम्म जीवित रहेका सबै नेताहरु र निधन भएकाकाहरुको पनि नाता गोताका नाममा रहेको स्रोत नखुलेको सम्पत्ति सबै राष्ट्रियकरण गर्नु पर्ने, त्यसो गर्दा ४ वर्षको बजेट बन्न सक्ने रकम राज्यले प्राप्त गर्ने प्रक्षेपण गरेको छ । त्यसैगरी न्याय, निजामति, सुरक्षा, राजनीति संरक्षित ठेक्कापट्टा आदि सञ्चालन गर्ने एवम् कालोबजारी गर्नेहरु समेत सम्पूर्ण क्षेत्रका मुख्य व्यक्तिहरु लगायतको स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्नु पर्ने र त्यसो गर्दा १० वर्षको बजेट बन्न सक्ने रकम राज्यले प्राप्त गर्ने पनि अभियानको प्रारम्भिक प्रक्षेपण रहेको छ ।
अतः हामीले सो लगायतका मागहरु सहित लामो समयदेखि अभियानहरु सञ्चालन गर्दै आइरहेका छाँै । हामीले त्यसका लागि मेचीमहाकाली अभियान सञ्चालन गरी सरकारलाई ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराउँदा समेत त्यसतर्फ कुनै चासो नदेखाएकोले यस अभियान आफैँले नागरिकहरुको तर्फबाट स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्नका लागि स्वतन्त्र नागरिक आयोग गठन गरेको छ ।
त्यसैगरी देशका सूचना विदेशीलाई बेच्ने, नेपाली अनुहारका विदेशी एजेण्टहरुलाई जनतावीच सार्वजनिक गर्ने, सत्ता र शक्तिमा रहेर कुन कुन व्यक्तिले कुन कुन विदेशीहरुसँग टेलिफोन, इमेल र अन्य सम्पर्क गरी नेपालका सूचना विदेशीलाई बेच्छन् र देशघातको काम गर्छन् भन्ने उनीहरुको संवादका प्रमाणहरु सहित जनतामा प्रष्ट पार्नेे कार्यहरु गर्नका लागि यस अभियानले साइबर गुरिल्ला पनि गठन गरेको छ । यो साइबर गुरिल्लाले स्रोत नखुलेको सम्पत्तिको विवरण, देश र जनताविरुद्ध जाजुसी गर्नेहरुको फोन वार्ता, इमेल संवाद आदि जस्ताको तस्तै जनता वीच सार्वजनिक गर्ने छ ।
नागरिक आयोगले देशभरबाट स्रोत नखुलेको सम्पत्तिका बारेमा जनसमुदायबाट खुला र गोप्य रुपमा समेत सूचना तथा निवेदनहरु लिने छ । ती सूचना र निवेदनहरु साथै साइबर गुरिल्ला दिएका वैज्ञानिक सूचना र रेकर्डहरुलाई पनि आधार बनाउने छ । सोही आधारबाट यस स्वतन्त्र राष्ट्रिय अभियानले ती स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्ने, त्यस्तो सम्पत्ति राख्नेलाई कारवाही गर्ने र देशविरुद्ध जासुसी गर्ने विदेशी एजेण्टहरुलाई समेत देश निकाला गर्ने सम्मको कारवाहीका लागि आधिकारिक रुपमा प्रमाण सहित सरकारसँग किटानी माग गर्ने छ ।
ती मागहरु पूरा नभएमा कस्तो कारवाही गर्ने वा कस्तो योजनाका साथ अधि बढ्ने भन्ने बारेमा अभियान फेरि जनता वीचमा पुग्ने छ । र, अभियानले निर्णय लिने छ ।
हाल स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्न गठित नागरिक आयोग यस प्रकार गठन गरिएको छ ।
अध्यक्ष : अधिवक्ता दीनेश राज सत्याल
सदस्य : डा.दामोदर त्रिपाठी
,, डा. अमित देव
,, अधिवक्ता कृष्ण प्रसाईँ
,, वैज्ञानिक विजय अधिकारी
,, लेखाविज्ञ रमाकान्त झा
,, एक्च्युअरी सुजन नेपाली
,, मनोविज्ञ ललिता लिम्बू
साइबर गुरिल्लातर्फ
साइबर गुरिल्लाको कार्यप्रकृतिका र ठूलो संख्या भएका समेत आधारमा हाललाई सो साइबर गुरिल्लाको सांगठनिक संरचना र नेतृत्व भूमिगत रुपमा नै रहने जानकारी गराइन्छ ।
अन्त्यमा, सम्पूर्ण नागरिक समुदायलाई तपाईँसँग भएको तपाईँको कुनै पनि स्रोत नखुलेको सम्पत्ति रहेको जीवित वा मृत व्यक्ति समेतको तथा नेपाल र नेपाली विरुद्ध नेपाली अनुहारमा रहेको विदेशी एजेण्टको बारेमा हामीलाई तपार्इँसँग भएको सूचना हाम्रो इमेल [email protected] मा उपलब्ध गराइदिनु हुन हामी हार्दिक आग्रह गर्दै सञ्चारकर्मी साथीहरुलाई पनि यसप्रति ऐक्बद्ध रुपमा साथ समर्थन र सहयोग गरिदिनुहुन आग्रह गर्दछाँै ।
स्वागत नेपाल
संयोजक, स्वतन्त्र राष्ट्रिय अभियान नेपाल