Logo

केही समयमा घर फर्किंदा आगोले खायो तीन सन्तान..



काठमाडौं २९ मंसिर । बंगलाचुली–८ गुराँसेकी जिवना पुन बिहीबार साँझ तीन सन्तानलाई घरमा बसालेर बिरामी छोरोलाई झारफुक गर्न बाहिर गएकी थिइन्। उनले बिरामीलाई सञ्चो गराउन त सकिनन् नै घरमा छाडेका तीन सन्तानसमेत गुमाउनुपर्‍यो।

‘छोरोको उपचारका लागि गाउँ जाँदा घरमा सोलारको ब्याट्री पड्किएर आगलागी भएछ’, उनले भनिन्, ‘मेरो सर्वस्व गुम्यो। घरभित्र रहेका तीन सन्तान आगोमा जले।’

आफू घरबाहिर रहेकाले उनीहरूलाई बचाउन नसकेको दुखेसो उनले गरिन्। उनी घर आउँदा सन्तान पनि थिएनन् र सम्पत्ति बाँकी थिएन। उनका श्रीमान् नवराज रोजगारीको सिलसिलामा भारतमा छन्।

गाउँबाट केही समयमा घर फर्किंदा आगलागी भएको देख्दा उनको होस उड्यो। उनले चुकुल लगाएर बस्न भन्दै छोराछोरीलाई घरमा छाडेकी थिइन्।

उनका सात वर्षका छोरा कृष्णबहादुर, छोरीहरू पाँच वर्षकी अस्मिता र दुई वर्षकी अञ्जु पुनले ज्यान गुमाएका हुन्। उनीहरूको शवसमेत फेला परेको छैन। ‘एउटा छोरो बिरामी, तीन छोराछोरी खरानी ! दैवले पनि पीडा दियो’, उनले भनिन्, ‘बिरामी छोरोलाई झारफुक गर्न लगें घरमा सबै सखाप भएछ।’

तीन बालबालिकासहित घरमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। फुसले छाएको दुईतले कच्ची घर भएकाले आगो छिटो फैलिएको जनाइएको छ। सात बाख्रा, चार गाईसमेत जलेर मरेको दाङका डीएसपी रामप्रसाद घर्तीले बताए।

यस्तै, तुलसीपुर उपमहानगरपालिका–५ रतननाथ टोलस्थित अन्नपूर्ण टेडर्समा आगलागी हुँदा ५ करोड रुपैयाँबराबरको क्षति भएको छ। इलाका प्रहरी तुलसीपुरका अनुसार व्यवसायी भीमप्रसाद घिमिरेको जुत्ता गोदाममा शुक्रबार बिहान आगलागी भएको हो। गल्ली साँघुरो भएकाले समयमा दमकल पुग्न नसक्दा धेरै क्षति भएको प्रहरीले जनाएको छ। प्रहरी, सशस्त्र, सेना र स्थानीयले उपमहानगरपालिकाको दमकल प्रयोग गरी तीन घण्टामा आगो निभाएका थिए।

तुलसीपुर–५ वडा कार्यालयले व्यापारी घिमिरेलाई १ लाख रुपैयाँ सहयोग गरेको छ। वडाक्ष्यक्ष वीरेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले अग्निपीडित घिमिरेलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको वडासदस्य सुरेश श्रेष्ठले सुनाए। उद्योग वाणिज्य संघ तुलसीपुरले ५१ हजार, तुलसीपुर राष्ट्रिय वाणिज्य संघले १ लाख १ सय ११ रुपैयाँ सहयोग गरेका छन्। अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्