मंसिर २०, काठमाण्डौ । पार्टी एकतापछि पहिलो पटक बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटिको बैठक २ घण्टा मात्रै बस्यो । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको राजनीतिक अवस्था तथा सरकार संचालनको विषयमाथि आफ्नो धारणा राखे भने अर्का अध्यक्ष पुष्पकमल दाहालले दुवै अध्यक्षका तर्फबाट राजनीतिक प्रतिवेदन पेश गरे । उनको प्रतिवेदनलाई लिएर नेता बामदेव गौतमले लिखितरुपमा सुझावसहित फरक मत राखेका छन् ।
आगामी सोमबार बस्नेगरी नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएपछि बालुवाटार बाहिर पहिलो पटक बसेको स्थायी कमिटीको बैठकमा शनिवार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको राजनीतिक अवस्था तथा सरकार संचालनको विषयमाथि आफ्नो धारणा राखेका थिए । अर्का अध्यक्ष पुष्पकमल दाहालले दुवै अध्यक्षका तर्फबाट राजनीतिक प्रतिवेदन पेश गरे ।
उनको प्रतिवेदनलाई लिएर नेता बामदेव गौतमले लिखितरुपमा सुझावसहित फरक मत राखेका छन् । गौतमले पार्टीमा प्रधानमन्त्री केपी शर्मा ओलीको अधिकार कटौतीको प्रस्ताव राखेका छन् । नेता गौतमले स्थायी कमिटीको जानकारीविना सरकारले महत्वपूर्ण निर्णय गर्न नपाउने मागसमेत अघि सारेका छन् ।
८ बुँदे राजनीतिक प्रतिवेदन र नेता गौतमको फरक मतसहितको सुझाव अध्ययनका लागि सबै सदस्यलाई वितरण गरिएको छ ।
स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डको प्रस्तुतीबाट वामदेव र माधव नेपाल पक्ष खुशी देखिएको छ ।
अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदनलाई नै बैठकको एजेण्डा मान्ने जिकिर गरिरहेका बेला प्रचण्डले उदाररुपमा प्रस्तुत हुँदै अन्य एजेण्डालाई पनि प्रस्तुत गर्न सकिने भनेपछि असन्तुष्ट पक्षले राहत महसुस गरेको हो ।
पार्टी एकतापछि पहिलो पटक निर्धारित समयमा नै सुरु भएको बैठक दुई घन्टामात्र चलेको थियो । सोमबार ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा नै बैठक बस्नेछ ।
स्थायी समिति बैठक बस्नुअघि सचिवालय बैठकले स्थायी समितिको बैठकका लागि प्रमुख कार्यसूची तय गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले साङ्गठनिक एकीकरणलाई तत्काल टुङ्गोमा पुर्याउने, पार्टी र सरकारको कामलाई थप व्यवस्थित बनाउने र आगामी कार्यदिशा तय गर्ने विषयमा आवश्यक निर्णय गरेको हो ।
बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार एकता प्रक्रियामा बाँकी रहेका काम कारवाहीलाई तत्काल पूर्णता दिने, सरकारको काम कारवाहीको समीक्षा गर्ने, सकारात्मक काम कारवाहीलाई थप अगाडि बढाउने र कमजोरी हटाएर जानेलगायतका विषय स्थायी समिति बैठकमा पेश गर्ने गरी कार्यसूची तय भएको जानकारी दिएका थिए ।
बहुप्रतिक्षित स्थायी समितिको बैठकले एकता प्रक्रियामा बाँकी रहेका काम कारवाहीलाई टङ्गोमा पुर्याउने विश्वास लिइएको छ । गत जेठमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को बीचमा पार्टी एकता भई नेकपा बनेपछि प्रदेश समितिका पदाधिकारी र सदस्यको चयन भए पनि जिल्ला, नगर, गाउँ तथा स्थानीय पार्टी कमिटीको एकताले पूर्णता पाउनसकेको छैन । यस्तै जनवर्गीय एवं पेशागत सङ्गठनको समेत एकता प्रक्रिया बाँकी रहेको छ । एकता प्रक्रिया र सरकारको काम कारवाहीको विषयमा स्थायी कमिटीको बैठकले ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ ।