काठमाडौं १ पुस ।भारतमा दुई नेपाली ३३ किलो सुनसहित पक्राउ परेका छन् । उक्त सुन सनम शाक्य हत्या प्रकरणसँग जोडिएको हुन सक्ने आशंका गरिएको छ । तस्कर समूहले २०७४ माघ पहिलो साता दुबईबाट भित्र्याएको सुन ओसारपसारका क्रममा हराएको भनिएको थियो ।
भारतीय राजस्व अनुसन्धान अधिकारीले साताअघि कोलकाताबाट नयाँदिल्ली जाँदै गरेको कारको फल्स बटममा लुकाइएको सुनसहित दुई नेपाली पक्रिएका हुन् ।
उनीहरूले बरामद सुनबारे कोलकातास्थित नेपाली महावाणिज्य दूतावासमा पत्राचार गरेपछि मात्रै तथ्य बाहिर आएको हो । पक्राउ पर्नेमा इटहरी घर भएका हेमकुमार शर्मा र राकेशप्रसाद रहेको भारतीय अधिकारीले जनाएका छन् । स्रोतका अनुसार हेमकुमार लामो समयदेखि कोलकाता र सिलिगुडी आउजाउ गरिरहेका थिए । उनका साथबाट नक्कली लाइसेन्ससमेत बरामद भएको छ । महावाणिज्यदूत एकनारायण अर्यालले अवैध सुनसहित दुई नेपाली पक्राउ परेको सूचना गृह मन्त्रालयमा पठाइसकिएको बताए ।
सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा प्रहरी अधिकारीकै भूमिका शंकास्पद देखिएपछि सरकारले २०७४ चैत २० गते सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । विघटित उक्त समितिका एक सदस्यले पक्राउ परेका भनिएका दुई नेपालीको संगठित सुन तस्करीका मुख्य योजनाकार चूडामणि उप्रेती (गोरे) सँग कुनै कनेक्सन भेटिइनसकेको बताए ।
प्रहरी अधिकारीहरूका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलबाट अक्सर ३३ किलो नै सुन तस्करी हुने गर्छ । त्यसैले बरामद सुन पहिलेकै हो भन्न सकिन्न । २०७३ पुस २१ मा पनि विमानस्थलबाट बाहिरिएको साढे ३३ किलो सुन बरामद भएको थियो । प्रहरी अधिकारीले संगठित सुन तस्करीका मुख्य योजनाकार गोरेको मूलथलो झापा भएको र पक्राउ परेकाहरू पनि छिमेकी जिल्लाका भएकाले उनीहरूबीच केही सम्पर्क हुन सक्ने आशंका गरेका छन् । तर पक्राउ परेकाहरूको विस्तृत बयान नआएसम्म केही भन्न नसकिने उनीहरूले जनाएका छन् ।
अधिकांश अभियुक्त धरौटीमा रिहा
साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या आरोपमा जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका अधिकांश अभियुक्त उच्च अदालतको आदेशबाट मुक्त भइरहेका छन् । भरिया भनिएकाको हकमा भने थुनामा राख्ने जिल्ला अदालतको आदेश सदर भएको छ । फागुन १९ गते मोरङ प्रहरीले आपराधिक समूह स्थापना गरी १७ अर्ब १ करोड ८० लाख मूल्य बराबरको करिब ३८ क्विन्टल सुन तस्करीसहित शाक्यको हत्या गरेको माग दाबी गर्दै ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
दुई साता लामो थुनछेक बहसपछि जेठ ८ गते न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले तत्काल प्रहरी नियन्त्रणमा रहेका ३१ मध्ये २९ लाई थुनामा राख्ने आदेश दिएको थियो । आदेश बदर गरिपाउँm भन्दै अभियुक्तहरूले उच्च अदालतमा निवेदन दिएका थिए । उच्चले निलम्बित एसएसपी दिवेश लोहनी, पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसी, व्यापारी सञ्जय खेतान भनिने प्रभात अग्रवाल, रामकुमार तिवारी र मदन सिलवाललाई तारिखमा छोड्ने आदेश दिइसकेको छ ।
उच्चले डीएसपी सञ्जयबहादुर राउतसहित १० जनाको हकमा जिल्ला अदालतको निर्णयलाई सदर गरेको छ । जिल्लाबाट साधारण तारिखमा छुटेका अमर थापामगर र ५ हजार धरौटीमा छुटेका कृष्ण खडकालाई पुन: थुनामा राख्न उच्चले आदेश दिएको छ । त्यसैगरी भरिया भनिएका नरेन्द्र कार्की, मोहन काफले, मदन घिमिरे, लाक्पा शेर्पा र राजन कुमारको हकमा जिल्लाकै आदेश सदर गरेको छ । पछिल्लोपटक गत बिहीबार न्यायाधीश नागेन्द्रलाभ कर्ण र थीरबहादुर कार्कीको इजलासले सुन व्यवसायी विमल पोद्दार र आरके भनिने राजेन्द्रकुमार शाक्यलाई १०–१० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । कान्तिपुरबाट