काठमाडौं, ३ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । विधान संशोधनबारे शीर्ष तहमा आज विहान सहमति जुट्न नसकेपछि महासमिति बैठकमा प्रभावकारी छलफल हुन सकेको थिएन । तर, अहिले बैठक जारी रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
केन्द्रिय कार्य समिति बैठक र पदाधिकारी बैठक बस्नु परेकोले विहान बैठक स्थगित् गर्नु परेको शर्माले स्पष्टीकरण दिए । तर, बाहिर स्थगित बैठकलाई लिएर अतिरञ्जना भएकोमा उनले गुनासो पोखे ।
उनले भने,‘अहिले भित्र सौहार्दपूर्ण रुपमा नेताहरुबीच छलफल भएको छ । पार्टीको प्रवक्ताको हिसाबले म तपाईहरुलाई भन्न चाहन्छु, आज विहानको सन्दर्भमा विधान प्रस्तुत भएरमात्रै छलफल गरौ भनेर बैठक स्थगित भएको हो । वधानको तयारी भएर छापिएर आउन २४ घण्टा लाग्ने भएकोले भोलिसम्म चल्ने बैठक अझै एक दिने लम्बिनेछ ।’
उनका अनुसार भोलिको सत्र अहिलेकै हलमा चल्ने र त्यसपछिको सत्र पार्टी केन्द्रिय कार्यालय सानेपामा चल्नेछ । त्यस्तै, विधानमा पदाधिकारी कत्ति बढाउने भन्नेबारे छलफल निश्चय भएको पनि उनले जानकारी दिए । उनले भने,‘तर, मिडियामा छलफल हुँदा नै विवाद भनेर कुराकानी भएको छ । यो गलत कुरा हो ।’