Logo

महायज्ञबाट ७५ लाख संकलन



ललितपुर, ४ पुष  । खानेपानी क्षमता अभिवृद्धिका लागि आयोजित महायज्ञबाट ७५ लाख संकलन भएको छ । बिष्णुडोल खानेपानी आयोजनाको क्षमता अभिवृद्धिका लागि २६ मंसिरबाट ३ पुससम्मका लागि महालक्ष्मी नगरपालिका—८ बिष्णुडोलमा भएको विराट ज्ञान धान्याचल महायज्ञमा उक्त रकम संकलन भएको हो ।

महायज्ञमा दाताहरुले अझै रकम दान गरिरहेकाले रकम बढ्ने आयोजक कमिटिका अध्यक्ष कुबेर केसीले बताए । महालक्ष्मी नगरपालिकामात्र नभई वरपरका नगरपालिका, जिल्ला र विदेशमा रहेका नेपालीले समेत दान गरेको केसीले जानकारी दिए ।

महायज्ञमा सबैभन्दा बढी विष्णुडोल, चारघरे र सिमथलीका बासिन्दाले दान गरेका थिए । महालक्ष्मी नगरपालिकाको लुभु, लामाटार, सिद्धिपुर, टिकाथली, इमाडोललगायतका स्थानबाट पनि उल्लेख्य संख्यामा उपस्थिति रहेको आयोजक कमिटिका सचिव विवेककुमार कार्कीले जानकारी दिए ।

दान बाकसबाट मात्र ५० हजारभन्दा बढी संकलन भएको कार्कीले बताए । महायज्ञमा दान गर्नेमा महिला र वृद्धवृद्धाहरुको उल्लेख्य संख्या थियो । आश्चर्यजनक रुपमा वृद्धवृद्धाको सहभागिताले आफूहरु निकै उत्साही भएको कार्कीले बताए ।स्थानीय श्यामबहादुर खत्री, रामप्यारी बस्नेत, शेरबहादुर खत्रीलगायत वृद्धवृद्धाले ठूलो राशीको दान गरे ।

सात जनाले एक लाखभन्दा बढी र २० जनाले ५० हजारभन्दा बढी दान गरेको आयोजकले जनाएको छ । अमेरिका बस्दै आएका चारघरे निवासी राम खड्का र अप्सरा खड्काले एक लाख एक रुपैयाँ दान गरे । उनीहरुले हजुरबुवा पदमबहादुर खड्का तथा हजुरआमा झलककुमारी खड्काको सम्झनामा दान गरेका हुन् ।

अमेरिकाको बोस्टनमा बस्दै आएका बिनोद थापा र निता ताम्राकार थापाले पनि एक लाख दान गरे । उनीहरुका तर्फबाट बाबु लक्ष्मण थापा र आमा कमला थापाले सम्मान लिएका थिए । यसैगरी अमेरिका बस्दै आएका बिष्णुडोल निवासी कुन्दन पोखरेल र अष्ट्रेलिया बस्दै आएका पूजन केसी, कुबेत बस्दै आएका शंकर केसी र सोबेस केसीले पनि दान गरे ।

आयोजक कमितिका अध्यक्ष कुबेर केसीले महायज्ञ सफल उत्साह व्यक्त गरेका छन् । सबैको माया र साथले महायज्ञमा संकलन भएको रकम खानेपानी अभिवृद्धिका लागि बिष्णुडोल खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको बताए । समितिका अध्यक्ष लक्ष्मण कार्कीले उपभोक्ताको हितमा उदाहरणीय कार्यमा रकम सदुपयोग गरिने प्रतिवद्धता व्यक्त गरे । खानेपानी जस्तो पवित्र कार्यमा मिलेको सहयोगले आफूहरु उत्साही भएको बताए ।

महायज्ञको शुभारम्भ मंसिर २५ गते पूर्व राष्ट्रपति डा. रामवरण यादवले गरेका थिए । महायज्ञमा सांसद, पूर्व सांसद, पूर्वमन्त्री, नेपाल सरकारका उच्च अधिकारी, सुरक्षा निकायका उच्च अधिकारी, उद्योगी, व्यवसायी, पेशाकर्मी, शैक्षिक संघ संस्थालगायतले दान गरेका थिए । महायज्ञमा उल्लेख्य संख्यामा तुलादान भएको थियो । महायज्ञमा भुवनगुरुबाट प्रबचन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्