काठमाडौँ,४ पुस । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले छोटो समयमा महत्वपूर्ण कामहरुको थालनी भएको बताउनुभएको छ । महानगरले आज यहाँ आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सबैको गुनासो सुनेपछि उहाँले विकास निर्माणलाई तीव्र गति दिने बताउनुभयो ।
छोटो समयमा सबै काम हुन नसक्ने भन्दै उहाँले प्राथमिकताका आधारमा विकास निर्माण अगाडि बढाइएको बताउनुभयो । उहाँले मेट्रोसभाहल, क्रिकेट मैदान, अटोल्याण्ड, बहुउद्देश्यीय भवनको निर्माणका लागि काम भइरहेको जानकारी दिनुभयो ।
चालू आवको चार महीनामा ३१।३८ किलोमिटर सडक कालोपत्र गरिएको, ५२।७७ किलोमिटर सडक ग्राभेल गरिएको र २।५ किलोमिटर ढल निर्माण गरिएको पनि उहाँले बताउनुभयो ।
उपप्रमुख पार्वती शाह र प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले महानगरले समग्रमा गरेका कामसँगै पूर्वाधार, सुशासन, स्वास्थ्य, शैक्षिक प्रशासन, कृषि, पर्यटन, राजश्वलगायत क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताउनुभयो ।
सो अवसरमा उपस्थित सर्वसाधारणले अपेक्षाकृतरुपमा विकास निर्माणले गति लिन नसकेको भन्दै गुनासो गरेका थिए । उनीहरुले कर्मचारीले कार्यालयमा मोबाइल चलाएर बस्ने गरेको, सेवाग्राहीको कामलाई महत्वका साथ नहेरिएको, पार्किङको व्यवस्थापन राम्रो नभएको, महानगर कार्यालयको भौतिक संरचना अभाव भएको, कर बढी भएको जस्ता गुनासा गरेका थिए । कार्यक्रममा जिल्लाका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।रासस