काठमाडौं, ४ पुष । गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले नेपालमा विभिन्न ठाउँमा रेडलाईट एरिया खोलिनुपर्ने भन्दै चार वटा नयाँ प्रस्ताव अघि सारेका छन् ।
आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन” कार्यक्रममा पधकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।
फरक प्रसँगमा उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली तीन चार वटा कुरामा गेम चेञ्जर भएको दाबी गरे । प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचको सम्बन्ध समानताका आधारमा अघि बढाउन सफल भएको उनको दाबी छ । द्धिपक्षीय सार्वभौमिक समानताका आधारमा नेपाल र भारतबीचको सम्बन्ध हुनुपर्छ भनेर ओलीले नै अडान लिएको र त्यसमा सफल भएको उनको भनाई छ ।
सरकार वायुपंखी घोडाजस्तो कुद्न नसकेकोमा मात्रै पार्टीका नेता र जनताले आलोचना गरेको उनको जिकिर छ । पार्टीभित्र सरकारको कामलाई लिएर भएको आलोचना प्रधानमन्त्रीबाट नै ओली हट्नुपर्ने तहको आलोचना नभएको उनले प्रष्टाए ।
झलनाथ खनालले ओलीको राजिनामा मागिसक्नुभयो नि भनेर धमलाले सोधेको प्रश्नमा उनले भने,”होईन, उहाँले ओलीजीको कार्यशैलीमा सुधार चाहानुभएको हो । सरकारको गति सुस्त भयो । यसलाई बढाउनुपर्छ भनेर भएको आलोचना त राम्रो कुरा हो नि ।”
अबको पाँच वर्षसम्म केपी ओली नै यो देशको प्रधानमन्त्री हुने उनको दाबी छ । उनले भने,”यसमा कुनै तलमाथि हुँदैन ।”