पुष ४, काठमाण्डौ । मंसिर २९ गतेदेखि सुरु भएको कांग्रेस महासमिति बैठक हिजै सकिनुपथ्र्यो । बैठक सकिने त परै जावस्, विधानमाथिको छलफल नै सुरु भएको छैन ।
कांग्रेस नेतृत्वको विवादले चरम सिमा नाघेपछि महासमिति बैठकमा पेश गर्नुपर्ने विधान अलपत्र छ । कांग्रेसको कमजोरी हटाएर नयाँ दिशामा जाने लक्ष्यसहित बोलाइएको महासमिति बैठक यतिसम्म अलपत्र भन्ने कसैले पनि सोचका थिएनन् ।
देशभरबाट आएका महासमिति सदस्यहरु पुषको जाडोमा कठ्याङ्ग्रिने मात्रै होइन, गोजीमा भएको पैसासमेत सकिएपछि घर फर्किन थालेका छन् । महासमिति बैठक स्थलमा सदस्यहरुको एक किसिमको रुवाबासी नै छ भन्दा फरक नपर्ला ।
महासमिति बैठक सुरु भएको ६ दिन पुग्यो । अहिलेसम्म कुनै पनि विषयवस्तुमा गम्भीर छलफल नै भएन ।
सरकारको कार्यशैली, आगामी दिशा, नीति र विधानमा शुन्य प्रगति छ भने नेताहरुको अडान आफ्नै स्वार्थका लागि र गुट बलियो बनाउन केन्द्रित छ । विधानलाई आफ्नो पक्षमा पार्नका लागि नै कसरत भइरहेको छ ।