काठमाडौं, ७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्यापू सांस्कृतिक विकास कोषलाई १५ दिनभित्र रु २१ लाख उपलब्ध गराउने वाचा गरेका छन् ।
१५ औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाग लिन वसन्तुपर पुगेका ओलीसमक्ष आयोजक संस्थाका अध्यक्ष मङ्गलकृष्ण सिंहले अघिल्लो पटक प्रधानमन्त्री हुँदा कोषलाई उपलब्ध गराउन घोषणा गरेको रु छ लाख रुपैयाँ अझै नपाएको गुनासो गरेपछि यस्तो वाचा गरेका छन् ।
अध्यक्षको गुनासो सुनेपछि प्रधानमन्त्री ओलीले भने,“मैले अहिले यहाँ सुन्दा अनौठो र नरमाइलो पनि लाग्यो, मैले उहिले दिउँला भनेको छ लाख अहिलेसम्म पाएको छैन भन्ने सुन्दा, पहिले मैले भनेको रु छ लाखमा १५ लाख थपेर २१ लाख १५ दिनभित्र उपलब्ध गराउनेछु, नबिर्सीकन यसपाली उपलब्ध गराउने छु । यसपटक त्यस्तो हुँदैन ।”
तस्विर : मुकुन्द कालिकोटे