काठमाडौं, ८ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकार ऋषि धमलालाई नेकपाकै सांसद कोमल वलीले आफूसँग साँच्चिकै विवाह गर्नुहोला त भनेर प्रश्न सोधेका छन् ।
शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा कुराकानी गर्दै श्रेष्ठले यस्तो प्रश्न गरेका हुन् । केही दिन पहिले सोही कार्यक्रममा कोमल वलीसँग पत्रकार ऋषि धमलाले कुराकानी गरेका थिए ।
नेकपाको विभिन्न बैठकमा तपाईको विवाह हुनुपर्छ भनेर चर्चा चलिरहेको छ, अब तपाईको विवाह भएको हामीले देख्न पाउँछौं त भनेर पत्रकार धमलाले प्रश्न सोधेको थिए । त्यसको जवाफमा श्रेष्ठले भनेका छन्,‘मैले बारम्बार भन्ने गरेको छु, म देश र जनताप्रति समर्पित छु । मैले वैवाहिक, पारिवारिक जीवनमा नजाने निर्णय गरिसकेको छु । मैले यो कुरा सार्वजनिक रुपमा पनि भनिसकेको छु । त्यसकारण यो दिशातिर मैले सोच्दिन् ।’
श्रेष्ठको उक्त जवाफमा मात्रै धमला सिमित भएनन् । उनले अर्को प्रश्न पुनः तेर्साए,‘तर कोमल वलीसँग मैले मेरो यही कार्यक्रममा प्रश्न सोधेको थिएँ, उहाँले नारायणकाजी श्रेष्ठ मलाई अत्यन्तै मनपर्छ भन्नुभएको छ नि ?’
श्रेष्ठले जवाफ फर्काए,‘उहाँले हाम्रो पार्टीको कार्यकर्ता, नेता र सांसद भएकोले ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव र म पनि नेता भएकोले मनपर्छ भन्नुभएको छ । मैले पनि त्यो अन्र्तवार्ता हेरेको थिएँ । तपाईले चाहीँ अर्कै शीर्षक बनाएर प्रचार गरेर हुन्छ त ? मेरो विवाह हुँदैन् । देश र जनतासँग मैले विवाह गरिसकें ।’