काठमाडौं, ९ पुस । नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला हत्याकाण्डमा खनालले प्रहरी अनुसन्धानमा कमजोरी भएको स्वीकार गरेका छन् । उनले हतारमा नतिजा खोज्दा गलत अभ्यास भएको स्वीकारे ।
सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा खनालले यस्तो स्विकार गरेका हुन् । निर्दोषलाई पक्राउ गरेर अभियोग स्वीकार गर्न दबाव दिएको एकपछि अर्को घटना सार्वजनिक भइरहेका बेला खनालले प्रहरी अनुसन्धानमा कमजोरी भएको स्वीकार गरेका हुन् । उनले भने, ‘हतारमा नतिजा खोज्दा गलत अभ्यास भएको भेट्यौं ।’
निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधी पत्ता लगाउन प्रहरी संगठनले इमान्दार भएर प्रयन्त जारी राखेको बताएका छन् ।
प्रहरी संगठनले उपलब्ध सबैखालको विज्ञता प्रयोग गरेर अनुसन्धान जारी राखेको भन्दै उनले दोषीलाई कानुनी कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाए ।
प्रहरीको अनुसन्धानप्रति विस्वस्त हुन आग्रह गर्दै उनले पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्ति जतिसुकै शक्तिशाली भएपनि कारबाहीको दायरमा ल्याइछाड्ने बताए
उनले घटनाको अनुसन्धानमा कमजोरी गर्ने जो कोहीलाई नछाड्ने उनले प्रतिवद्धता जनाए । प्रहरीले छानबिन समितिको प्रतिवेदन अध्ययन भइरहेको भन्दै आईजीपी खनालले भने, प्रशासनिक कारबाही गर्न सिफारिस भएकाहरुलाई कारबाही गर्छौं । आवश्यक भए फौजदारी संहिताअनुसार पनि जान्छौं ।’
तस्विर : मुकुन्द कालिकोटे