काठमाडौं, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओली र राजपा नेपालका शीर्ष नेताहरुबीचको भेटवार्ता सम्पन्न भएको छ । भेटमा प्रधानमन्त्री ओलीले ७ दिनभित्र संविधान संशोधनलगायत राजपाले उठाएका सबै मुद्दा सम्बोधन गर्नेगरि प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्री ओलीले सात दिनभित्र सबै प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएपछि आजको बैठक टुंगिएको राजपा नेता केशब झाले जानकारी दिए । संविधान संशोधन, मुद्दा फिर्ता ,बन्दी रिहाई ,रेशम चौधरीको शपथग्रहण र छानबिन आयोगको प्रतिवेदन सार्वजनिक लगायतको विषयहरु अगाडि बढाउनेबारे प्रधानमन्त्री ओलीले विश्वास दिलाएका छन् ।
राजपा नेपालले १ बजे बैठक बसेर समर्थन फिर्ता लगायतको विषयमा निर्णय गर्नै लाग्दा प्रधानमन्त्री ओलीले सो दलका नेतालाई विहानै १० बजे बालुवाटार बोलाएका थिए । प्रधानमन्त्री निवासमा भएको बैठकमा सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्न प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।
तस्विर : मुकुन्द कालिकोटे