Logo

मन्त्री पण्डितको भारत भ्रमण फलदायी, संघीय संरचनामा कर्मचारी व्यवस्थापनबारे छलफल



काठमाडौं, १० पुस । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफ्नो ५ दिने औपचारिक भारत भ्रमण सफल भएको स्पष्ट पारेका छन् ।

मंगलबार अपरान्ह पत्रकार ऋषि धमलासँग सिंहदरबारमा आफ्नो भ्रमणबारे कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री पण्डित संघीय संरचनामा कर्मचारी व्यवस्थापन र पुर्नसंरचनाको अभ्यास एवं अनुभव साटासाट र अध्ययन गर्न एक साताअघि नयाँ दिल्ली पुगेका थिए ।

उनले भारतका कार्मिक, लोकशिकायत तथा पेन्सन केन्द्रीय राज्यमन्त्री जितेन्द्र सिंहसँग भेटवार्ता गरेका थिए । मन्त्री पण्डितकाअनुसार उक्त भेटवार्तामा कर्मचारी तालीम र त्यससम्बन्धी तालीम आदानप्रदानका विषयमा समेत छलफल भएको थियो । राज्यमन्त्री सिंहसँग उनको ४५ मिनेट कुराकानी भएको थियो ।

त्यस्तै, कर्मचारीको तालिम लगायतका क्षमता अभिवृद्धि गर्न नेपालको प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र भारतको मसुरीस्थित इण्डिया इन्स्टिच्युट अफ एडमिनिष्ट्रेटिभ सर्भिसबीच लिखित समझदारी गर्ने विषयमासमेत छलफल भएको थियो ।

भ्रमणको क्रममा मन्त्री पण्डितले भारतका संघीय लोकसेवा आयोगका अध्यक्ष अरविन्द सक्सेनासँग पनि भेटेका थिए । भेटवार्ताको क्रममा नेपाल–भारत द्धिपक्षीय सम्बन्धको बारेमा पनि कुराकानी भएको थियो ।

मन्त्री पण्डितले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने भेट्न सकेनन् । मोदी व्यस्त भएर भेट हुन नसकेपनि मन्त्री पण्डितले भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता भएको थियो । उनको भारत भ्रमणले नेपाल–भारत सम्बन्धमा तरंग ल्याएको छ ।



प्रतिक्रिया दिनुहोस्