पुष १०, काठमाण्डौ । सरकारसँग विभिन्न माग राख्दै प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिएको राजपाको माग अझै पूरा भएको छैन । पटक पटक सरकारलाई माग पूरा गराउन अल्टिमेटम नै दिएको राजपाले माग पूरा नहुँदा पनि कुनै ठोस निर्णय गर्न सकेको छैन । मंगलबार पुनः राजपा र सरकारबीच भेटवार्ता भयो ।
भेटका अवसरमा राजपाले भनेजस्तै संविधान संशोधन गर्ने र राजपा सरकारमा जाने सहमति भएको राजपाका एक नेताले दावी गरेका छन् ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र राजपाका नेताहरुबीच भेटवार्ता भयो । भेटका बेला प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्न आफू तयार रहेको आश्वासन दिएका थिए भने राजपाका नेताहरुले सरकारमा सहभागि हुन आफूहरु तयार रहेको जनाउ दिएका थिए ।
प्रधानमन्त्री ओलीले सबैखाले समस्या समाधान गरेर अघि बढन तयार रहेको बताएपछि राजपाका नेताहरु पनि सरकारमा जान तयार भएका हुन् ।
संविधान संशोधन गर्नेलगायतका माग सम्बोधनको तयारी गर्न प्रधानमन्त्री ओलीले राष्ट्रिय जनता पार्टी, नेपालको नेतृत्वसँग एक हप्ताको समय पनि माग गरेका छन् ।
राजपाले सांसद रेशम चौधरीको सपथग्रहण हुनुपर्ने, संविधान संशोधन गर्नुपर्ने र आफ्ना कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता गरी रिहा गर्नुपर्ने माग अघि सारेको छ ।