Logo

पाँच राजदूत सिफारिस, तीन फिर्ता



काठमाडौं १३ पुस । सरकारले पाँच देशमा राजदूत सिफारिस गरेका छ। तीन देशका राजदूत भने फिर्ता गरेको छ। सिफारिस पाँचै जना कर्मचारी हुन् भने फिर्ता तीनै जनाले राजनीतिक नियुक्ति पाएका थिए।

सरकारले क्यानडाका लागि भृगु ढुंगाना र फ्रान्सका लागि दीपक अधिकारीलाई सिफारिस गरेको छ। त्यस्तै थाइल्यान्डका लागि गणेश ढकाल, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी र जेनेभाको स्थायी प्रतिनिधिमा मणिप्रसाद भट्टराई सिफारिस भएका छन्।

ढुंगाना जेनेभामा नियोग उपप्रमुख भएर काम गरिसकेका र अहिले भारतसमेत हेर्ने दक्षिण एसिया महाशाखा प्रमुख हुन्। ढकाल चीन समेत हेर्ने महाशाखा प्रमुख हुन्। भण्डारी पश्चिम एसिया महाशाखा प्रमुख हुन् भने अधिकारी शिष्टाचार महापाल हुन्। भट्टराईले प्रशासन महाशाखा सम्हालेका छन्।

सरकारका प्रवक्ता एवं संचारमन्त्री गोकुल बाँस्कोटाले नियमित पत्रकार सम्मेलनमार्फत राजदूत सिफारिस र फिर्ताबारे जानकारी दिए। सरकारले बंगलादेश, दक्षिण कोरिया र स्पेनका लागि राजदूतलाई फिर्ता बोलाएको छ। इजरायलस्थित नेपाली राजदूतलाई यसअघि नै बोलाइसकिएको छ।

‘कार्यक्षमता हेरेर फिर्ता’

अघिल्लो सरकारले नियुक्त गरेकोमा द्वेषका कारण नभई नौ महिनासम्म कार्यक्षमता हेरेर राजदूत फिर्ता गरिएको मन्त्री बाँस्कोटाले बताए। उनले अन्य राजदूतलाई पनि फिर्ता गर्न सकिने बताए। ‘कार्यक्षमतामा ह्रास आएका राजदूत फिर्ता गरिएको हो,’ उनले भने, ‘अन्य स्थानमा पनि विस्तारै नियुक्ति हुनेछ।’

सरकारले रिक्त राजदूतको पदपूर्ति र अघिल्ला सरकारले नियुक्त गरेको राजदूत फिर्ता गर्ने प्रक्रिया यसअघि नै सुरु गरिसकेको छ। यसअघि खाली चार स्थानमध्ये तीनमा राजनीतिकतर्फबाट र एक जना परराष्ट्र कर्मचारी पठाइएको थियो। यस पटक भने पाँचै जना परराष्ट्र सेवामा रहेकाले मौका पाएका छन्।

राजदूत रिक्त रहेका भारत, मलेसिया र युएईमा क्रमशः नीलाम्बर आचार्य, उदयराज पाण्डे र कृष्णप्रसाद ढकाललाई सिफारिस गरिएको थियो। उनहरुको संसदीय सुनुवाइ सकिइसकेको छ। इजरायलमा पूर्ववर्ती सरकारले पठाएको राजदूत फिर्ता गरेर डा. अन्जान शाक्य सिफारिस भएकी थिइन्। उनको पनि सुनुवाइ भइसकेको छ। जापान, कतार र ओमानका राजदूतबारे अझै निर्णय हुन सकेको छैन।

परराष्ट्र बाहेककालाई राजदूत बनाउने तयारी

राजदूतमा परराष्ट्र सेवामा रहेका कर्मचारी मात्र अब्बल हुन्छन् भन्ने आम धारणा छ। अन्य सेवामा रहेकाहरु कूटनीतिबाट टाढा छन्। यस्तो धारणालाई चिर्न सरकारले अन्य सेवामा रहेका कूटनीतिक क्षेत्रका जानकार र सबल प्रशासकलाई राजदूत बनाउने बहस थालेको प्रधानमन्त्री कार्यालय उच्चस्रोतले बतायो। उद्योग, व्यापार र वैदेशिक महाशाखामा रहेर कूटनीतिक ‘लविङ’ र ‘डिलिङ’ मा अभ्यस्त भएकालाई राजदूतमा पठाउनेगरी बहस आरम्भ भएको छ।

‘सबै क्षेत्रका व्यक्तिको आआफ्नै महत्व हुन्छ। स्थान र विषयगत ज्ञान हेरेर राजदूत नियुक्ति अहिलेको अपरिहार्यता हो,’ प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भने, ‘परराष्ट्रको दाबी रहनु स्वभाविक भएपनि अन्य क्षेत्रका सशक्तहरुलाई पनि राजदूतका पठाउने सोच प्रधानमन्त्रीको छ।’

केही खास स्थानमा राजनीतिको शीर्ष व्यक्तित्वलाई पठाउन आवश्यक रहेको महसुस सरकारलाई भएको छ। यसअघि भारत, चीन, अमेरिका, बेलायत, रुस र फ्रान्समा राजनीतिमा खारिएका र कूटनीति बुझेका व्यक्ति पठाइने भनिएको थियो। यद्यपि सरकारले त्यसअनुरुप निर्णय लिन सकेन। अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्