Logo

राजदुत पराजुलीलाई फिर्ता बोलाउन मन्त्री ज्ञवालीलाई पार्टीभित्रैबाट चर्को दबाब



काठमाडौं, १४ पुस । सरकारले शेरबहादुर देउवा नेतृत्वको तत्कालिन सरकारले नियुक्त गरेका राजदुतहरु धमाधम फिर्ता बोलाउन थालेको छ । यसअघि तीन देशका राजदुत फिर्ता बोलाईसकेको छ ।

मन्त्रिपरिषद्को बैठकले दक्षिण कोरिया, स्पेन र बंगलादेशका राजदूतहरू क्रमशः अर्जुनजंगबहादुर सिंह, भरतबहादुर रायमाझी र प्रा. डा. चोपलाल भूषाललाई तीन हप्ताको तयारी म्याद दिई फिर्ता बोलाउने निर्णय गरेको हो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा केही नेताहरुले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई ओमनका लागि नेपाली राजदुत शर्मिला पराजुली ढकाललाई फिर्ता बोलाउन दबाब दिएका छन् ।

स्रोतका अनुसार केही नेताहरुले राजदुत पराजुलीको नाम नै लिएर मन्त्री ज्ञवालीलाई कहिले फिर्ता बाउनुहुन्छ भनेर सोधेका थिए । जवाफमा ज्ञवालीले यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भैरहेको जानकारी गराएका थिए ।

ज्ञवाली पनि पराजुलीलाई फिर्ता बोलाउने पक्षमा छन् । तर, प्रधानमन्त्री ओली भने पराजुलीलाई तत्काल फिर्ता बोलाउन पक्षमा देखिएका छैनन् । तर, स्थायी समिति सदस्यहरुले प्रधानमन्त्री ओलीलाई यसबारेमा तत्काल निर्णयमा पुग्न दबाब दिएको खुलासा भएको छ । स्थायी समिति सदस्यहरुको विरोधपछि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले पदबाट यसअघि नै राजिनामा दिईसकेका छन् ।

पाँच देशमा राजदुत सिफारिस

मन्त्रिपरिषद्को बैठकले सहसचिव गणेशप्रसाद ढकाललाई थाइल्यान्डको राजदूतमा पठाउने निर्णय गरेको छ भने सहसचिव मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग जेनेभा पठाउने सिफारिस गरेको छ। भट्टराईलाई स्वीजरल्यान्डका लागि आवासीय राजदूतको जिम्मेवारी पनि दिइएको छ।

त्यसैगरी, सहसचिव भृगु ढुंगानालाई क्यानडा, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्सको राजदूत र सहसचिव दुर्गाप्रसाद भण्डारीलाई कुवेतका लागि राजदूतमा सिफारिस गरिएको छ। सबै सहसचिव परराष्ट्र मन्त्रालयमा कार्यरत छन्। उनीहरूलाई विभिन्न देशका लागि गैर आवासीय राजदूतको पनि जिम्मेवारी दिइएको छ।



प्रतिक्रिया दिनुहोस्