Logo

मेलम्ची खानेपानीमा आर्थिक लोभ गरेर अलपत्र पारियो कि ?



पुष १४, काठमाण्डौ । नेपाली कांग्रेसका नेता तथा पूर्व खानेपानी मन्त्री दिपक खड्काले मेलम्ची खानेपानी आयोजना अलपत्र परेकोमा दुःख व्यक्त गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री खड्काले १–२ प्रतिशत मात्रै काम बाँकी रहँदासम्म पनि अन्योल हुनु दुखद भएको बताएका हुन् ।

कतिपय प्राविधिक पक्ष नबुझेकाले पनि तोकिएको समयमा निर्माण सम्पन्न नभएको खड्काको तर्क छ । तर ठेकेदार कम्पनीसँग पटक पटक आइपर्ने झमेला नै मुख्य समस्या भएको खड्काको ठहर छ ।

अर्कोतिर खड्काले केही चलखेल हुन लागेको हो कि भन्ने आशंका पनि गरेका छन् । “फेरी केही चलखेल हुन लाग्यो कि ? नेपालकै कोही आफ्नै मान्छेलाई ठेक्काको काम दिएर अतिरिक्त कुराहरुको लोभ गरियो कि ?” खड्काले भने ।

खानेपानी तथा सरसफाई मन्त्रालय तथा मन्त्रीमाथि नै खड्काले आर्थिक चलखेल गर्न लागेको हुन सक्ने आशंका गरे । “यो एउटा नेपालको ठूलो आयोजना हो । यो सम्पन्न भयो भने लगानीकर्ताहरु पनि उत्साहित हुन्छ । काठमाण्डौबासीले पानी पिउन पाउँछन् । यति धेरै पैसा खर्च भइसेकेको आयोजना अब अलपत्र पार्नुहुँदैन ।” खड्काले मन्त्री विना मगरलाई सन्देश दिदै भने ।

जे जति समस्या आए पनि आयोजना सम्पन्न भएरै छाड्ने खड्काको दावी छ ।



प्रतिक्रिया दिनुहोस्