विश्वनाथ सिम्खाडाः कालिकोट, १४ पुस । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पलाता खाँडागाँउका आगलागी पीडीतहरुको घर निर्माण प्रदेश सरकारलेगर्ने बताएका छन । नेकपा कालिकोटको पार्टी उद्धाटन गर्न कालिकोट पुगेका मुख्यमन्त्री शाहीले जिल्ला विपत व्यावस्थापन समितिको बैठकमा यस्तो बताएका हुन ।
मुख्यमन्त्रि शाहीले पीडितहरुको आवास निर्माणका लागि नमुना नक्सा, प्राविधिक सहयोगकासाथै प्रति घरपरिवार पाँचलाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको जानकारी दिएका छन् । प्रदेश सरकारले पीडित परिवारको पुनःस्थापनाका लागि अग्नि पीडित परिवार पुनस्र्थापना कार्यक्रम संचालन गर्ने बताउँदै मुख्यमन्त्री शाहीले भने,‘आगलागिबाट पीडित बनेकाहरुको लागि प्रदेश सरकार गम्भिर छ, आवास निर्माणमा सहयोग गर्न चाहने सरकारी तथा गैरसरकारी संघ संस्था र व्यक्तिहरुलाई प्रदेश सरकारले आवश्यक समन्वय तथा अपिल समेत गर्छ।’
मुख्यमन्त्री शाहीले वास्तविक आगलागि पीडितहरुको तथ्याङक संकलन गरि अहिले तत्काल सार्वजनिक जमिनमा पिडितलाई राखि अस्थायि घरटहरा निर्माण गर्ने क्याबिनेटको बैठकले निर्यण गरिसकेको बताए । उनले भने,‘राहत वितरणमा केही गुनासो आएको हुनाले जिल्ला बाहिर तथा जिल्ला भित्रवाट संकलन भएको राहत सामग्री व्यावस्थित गरि वितरण गर्न प्रमुख जिल्ला अधिकारिलाई निर्देशन दिए ।
बैठकमा प्रमुख जिल्ला अधिकारि चन्द्र बहादुर कार्कीले आगलागिले मानविय कुनै क्षति नगरे पनि, घरनै आगोले नष्ट गर्दा पुषको चिसो मौसममा बालबालिका,बृद्धा महिला बढि प्रभावित बनेको जानकारि दिए । प्रमुख जिल्ला अधिकारि कार्कीले भने,‘आगलागि भएको स्थान खाडाँमा पुग्दा वास्तविक घरधुरी ८७ भएपनि आगलागिबाट क्षति भएका ३० देखि ३८ घर मौत्र पुर्णरुपमा क्षतिभएका र अनुमानित तीन करोड, ६ लाख ३३ हजार रुपैयासम्म क्षतिको अनुमान गरिएको छ ।’